काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीको आगामी ११औँ राष्ट्रिय महाधिवेशन नेतृत्व निर्माणको निर्णायक चरण भएकाले सिंगो पार्टी एकताबद्ध भएर अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत अखिल नेपाल महिला सङ्घले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै पोखरेलले पछिल्ला दिनमा पार्टी र नेतृत्वलाई लक्षित गरी भइरहेका प्रहारबीच संगठनलाई मजबुत बनाउन एकता नै विकल्प भएको बताए ।
“हाम्रो पार्टीले प्रतिस्पर्धालाई रोकेको छैन,” महासचिव पोखरेलले भने, “प्रतिस्पर्धामा आउन चाहनेका लागि ढोका खुला छ तर हामी एकता र सहकार्यलाई नै प्राथमिकता दिन्छौँ।”
उनले पार्टीका नीति–निर्देशनसम्बन्धी तयारीहरू अधिकांश पूरा भइसकेकाले अब महाधिवेशनलाई नेतृत्व निर्माणतर्फ केन्द्रित गरिने जानकारी दिनुभयो। साथै, घर–घरमा पुगेर महिला हिंसाविरुद्ध जनचेतना फैलाउन आग्रह पनि गरे ।
अनेम सङ्घकी अध्यक्ष टुका हमालले १६ दिने अभियानसँगै वर्षभर महिलामाथि हुने हिंसा रोकथामका लागि काम भइरहेको उल्लेख गर्दै प्रविधिको दुरुपयोगका कारण महिलामाथि हिंसाका नयाँ रूप देखिन थालेकाले सावधानीपूर्वक प्रयोग आवश्यक भएको बताइन् ।