शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक आज

बुधबार, मंसिर १७ २०८२

काठमाडौँ । नेपाली कांग्रेसको १५ौँ महाधिवेशनको घोषणा भएपछि पहिलोपटक क्रियाशील सदस्यता व्यवस्थापन समिति आज बैठक बस्दै छ। व्यस्त कार्यतालिकालाई ध्यानमा राख्दै समिति बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।

महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको समितिमा सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश स्नेही सदस्य छन्। केन्द्रीय समितिले १५ मंसिरमा सदस्यतासम्बन्धी केही खुकुलो प्रावधान ल्याएपछि बैठक बस्न लागेको समितिका सदस्य प्रकाश स्नेहीले जानकारी दिए।

उनका अनुसार आजको बैठकमा सर्वप्रथम केन्द्रीय समिति बैठकले गरेको निर्णयको समीक्षा हुनेछ। धेरै जिल्लामा नवीकरण कार्य सकिए पनि केही ठाउँमा अझै बाँकी रहेको उनले बताए।

स्नेहीले भने, “अब छोटो समयमा सदस्यता नवीकरण र वितरण दुवै काम सक्नुपर्ने चुनौती छ। त्यसैले द्रुत गतिमा, सहज र उदारतापूर्वक कार्य अघि बढाउने छौँ।”

यसअघि केन्द्रीय समितिको बैठकले केन्द्रबाट नयाँ क्रियाशील फारम २० मंसिरभित्र प्रदेश तथा जिल्लामा पठाउने निर्णय गरेको थियो। पुस ८ गतेभित्र नयाँ सदस्यता प्रक्रियाको काम सक्ने र पुस ११ भित्र सदस्यता सूची केन्द्रमा आउनेगरी कांग्रेसले समयसीमा तोकेको छ।