शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

पोखरा मेयरकाे घरमा आगजनी र तोडफोड गर्ने रास्वपा नेतासहित चार जना कारागार चलान

मंगलबार, मंसिर १६ २०८२

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा पोखरा मेयर धनराज आचार्यको घरमा आगजनी र तोडफोड गर्ने रास्वपा नेतासहित चार जनालाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाएको छ।

अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले आपराधिक उपद्रव तथा डाँका चोरी मुद्दामा रास्वपा पोखरा–१० का सभापति चन्द्रबहादुर थापा, विमला सापकोटा र चिनबहादुर खवासलाई थुनामा पठाउन आदेश दिएको हो। घटनामा संलग्न अर्का एक नाबालकलाई सुधार गृह पठाइएको छ।

घटनामा संलग्न चन्द्रका भाइ हरिबहादुर थापालाई भने २ लाख धरौटीमा रिहा गर्ने आदेश जारी गरिएको छ। आन्दोलनको दोस्रो दिन सरकारी सम्पत्ति र मेयर आचार्यको घरमा क्षति पुर्‍याउने फोटो तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि रास्वपाले थापालाई पक्राउ हुनु अघि नै निलम्बन गरेको थियो।

त्यसैगरी, मादी–६ का सभापति भोजराज पौडेल पनि निलम्बनमा रहेका छन्। कास्की प्रहरीले आन्दोलनको मौका छोपेर सरकारी र निजी सम्पत्तिमा क्षति पुर्‍याउनेहरूलाई धमाधम पक्राउ गरिरहेको छ।