शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

परिवर्तनको आवाजलाई बेवास्ता नगर्न सरकारलाई रास्वपाको चेतावनी

सोमबार, मंसिर १५ २०८२

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सरकारलाई परिवर्तनको जनआवाज र पार्टी अध्यक्ष रवि लामिछानेलाई नजरअन्दाज नगर्न कडा चेतावनी दिएका छन्।

आइतबार काठमाडौंमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले सरकारले घोषित मितिमा निर्वाचन सम्पन्न गर्न रास्वपाले निरन्तर सहयोग गरिरहे पनि सरकारले सोअनुसारको गम्भीरता नदेखाएको टिप्पणी गरे ।

अर्यालले सरकारले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन आवश्यक तयारीमा केन्द्रित हुनुपर्नेमा जोर दिए। उनले सबै राजनीतिक दललाई समेत निर्वाचनको वातावरण निर्माणमा योगदान दिन आह्वान गरे।

उनले चेतावनी दिँदै भने, “हामीले यो सरकारलाई चुनाव गराउन आवश्यक टेको दिइरहेका छौँ। तर सरकारले रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी वा परिवर्तनका पक्षधरलाई नजरअन्दाज गर्‍यो भने रास्वपा अझै ठूलो शक्ति बन्छ। हामीलाई सडकमा आउन बाध्य नपारियोस्।”

अर्यालका अनुसार रास्वपाले शान्तिपूर्ण तरिकामा सरकारलाई ‘शंकाको सुविधा’ दिँदै समयमै निर्वाचन गराउन आग्रह गरिरहेको छ। विवेकशील पार्टीसँगको एकतापछि रास्वपा झनै बलियो बनेको दाबी गर्दै उनले पार्टीलाई रोक्न अब कसैले नसक्ने दाबी पनि गरे।