काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि गरिएको प्रतिनिधि छनोट प्रक्रियामा आठ जिल्लाबाट उजुरी परेको छ। महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिका सचिव माधव ढुङ्गेलका अनुसार ती जिल्लाहरूमा विधिअनुसार प्रतिनिधि चयन नभएको आरोपसहित उजुरी दर्ता भएको हो।
उनका अनुसार ओखलढुङ्गा, धनकुटा, दाङ, बाँके, बझाङ, तनहुँ, बारा र रौतहट जिल्लामा प्रक्रियागत त्रुटि देखिएको भन्दै गुनासो आएको छ। ढुङ्गेलले उजुरी परेका जिल्लाहरूमा देखिएका समस्या चाँडै समाधान गरिने स्पष्ट गरे ।
शनिबार देशभर एमालेको महाधिवेशन प्रतिनिधि छनोट गरिएको थियो। सचिव ढुङ्गेलका अनुसार अधिकांश जिल्लामा सर्वसम्मत रूपमा प्रतिनिधि चयन भएका छन्। छनोट भएका प्रतिनिधिहरूको विवरण प्रदेश कार्यालयमार्फत भोलिसम्म केन्द्रीयस्तरमा पठाउन निर्देशन दिइएको छ।
महाधिवेशनका लागि करिब दुई हजार २०० प्रतिनिधि चयन भइसकेका छन्। एक प्रतिनिधिसभा क्षेत्रबाट खुला, महिला र युवा गरी चार जना प्रतिनिधि छनोट हुने नियम छ। एमालेको ११औँ महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ।