काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको खुद्रा मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले गरेको मूल्य समायोजन आजदेखि लागू भएको छ।
मूल्य समायोजनपछि पहिलो वर्गका डिपोहरूमा डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४५ रुपैयाँ र तेस्रो वर्गका लागि १४६ रुपैयाँ तोकिएको निगमले जनाएको छ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज डिपोलाई पहिलो वर्गमा, सुर्खेत र दाङलाई दोस्रो वर्गमा तथा काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ।
यस्तै, निगमले हवाई इन्धनको मूल्य भने बढाएको छ। आन्तरिक उडानतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर १३४ रुपैयाँ पुगेको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौँमा प्रतिकिलोलिटर अमेरिकी डलर ४२ ले वृद्धि भई एक हजार १५ डलर कायम भएको छ।
इन्डियन आयल कर्पोरेसनबाट आएको नयाँ खरिद मूल्यअनुसार डिजेल/मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ ४४ पैसा कमी र हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ ६२ पैसा वृद्धि भएकोले खुद्रा मूल्य समायोजन गरिएको निगमले बताएको छ।