काठमाडौं । भदौ २३/२४ को जेन–जी आन्दोलनका उग्र घटनाक्रमका बेला रानीपोखरीस्थित काठमाडौं महानगरीय प्रहरी कार्यालयबाट लुटिएका हतियारहरूसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका मध्ये एक जना नेपाली कांग्रेस नेता विश्वदीप लिङ्देनका छोरा विश्व लिङ्देन रहेका छन्।
पक्राउ पर्नेमा झापा दमक वडा न ६, प्रशान्ती टोल निवासी कांग्रेस नेता विश्वदीपका छोरा २९ वर्षीय विश्व लिङ्देन , दमक वडा नं ९ बस्ने २६ वर्षीय सरोज पुरी र इलाम चुलाचुली वडा नं ४ आइतवारे बस्ने ३० वर्षीय पवन हाङसुङ्वा रहेका छन् ।
आइतबार राति लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको टोलीले दमक ९ स्थायी ठेगाना भई दमक ८ मा डेरा बस्दै आएका सरोजलाई एक थान ठूलो चापे टाइप ५४ चाइनिज पेस्तोल र सोको १५ राउण्ड गोलीसहित पक्राउ गरेको थियो ।
उनलाई इलाका प्रहरी कार्यालय दमकमा ल्याएर सोधपुछ गर्दा उनले कांग्रेस नेता लिङदेनका छोरालाई अर्को हतियार राख्न दिएको बताएका थिए । त्यसको आधारमा लिङ्देनलाई उनको घरबाटै पक्राउ गरिएको थियो । लिङ्देनलाई थप सोधपुछ गर्दा उनले इलाम चुलाचुली ४ बस्ने पवनलाई २० हजार रुपैयाँमा सो हतियार बेचेको बताएका थिए ।
त्यसपछि लामो खोजीपछि काँकडभिट्टा शाखा कार्यालय र दमक प्रहरीको संयुक्त टोली इलाम पुगेको थियो। त्यहाँ पवन हाङसुङ्वाको बारीमा खाल्डो खनेर रातो प्लास्टिकको झोलामा लुकाइ राखिएको टाइप–५४ चाइनिज पेस्तोल एक थान, राउण्ड ५ (पेस्तोलमै लोड गरिएको अवस्थासहित) फेला पारियो। हतियारमा खिया लागेको देखिन्थ्यो। त्यसपछि प्रहरीले पनवलाई पनि पक्राउ गरेको हो ।
बरामद हतियारसहित तीनै जनालाई थप अनुसन्धानका लागि काठमाडाैं पठाइएको प्रहरी स्रोतले बताएको छ ।