काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ११औँ महाधिवेशनमा पार्टी अध्यक्षमा प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेका छन्।
बिहीबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकमा पोखरेलले आफू अध्यक्ष पदका लागि उठ्ने मनस्थिति बनाइसकेको स्पष्ट रूपमा बताएका छन्।
यसअघि विभिन्न सञ्चारमाध्यममार्फत अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने संकेत दिएका पोखरेलले पहिलोपटक पार्टी बैठकमै आफ्नो उम्मेदवारीबारे खुलेर अभिव्यक्ति दिएका हुन्। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पनि आफू अध्यक्ष पदबाट पछि नहट्ने स्पष्ट संकेत दिएको एक पदाधिकारीले जनाएको छ।
बैठकमा पोखरेलले पार्टी आन्दोलन “संकटापन्न अवस्थामा पुगेको” उल्लेख गर्दै नेतृत्वको अभिव्यक्ति र कार्यशैलीका कारण संकट अझै गहिरिएको मूल्यांकन गरे। उनले पार्टीलाई निकास दिने तथा आन्तरिक सुदृढीकरणका लागि प्रतिस्पर्धामा उत्रन लागेको बताए।
आसन्न महाधिवेशनलाई लिएर एमालेभित्र प्रतिस्पर्धा चर्किँदै गएको देखिन्छ।