काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्को बैठकले आर्थिक वर्ष ०८१/८२ को आठौँ वार्षिक प्रतिवेदनको मस्यौदा आवश्यक संशोधनसहित स्वीकृत गरेको छ।
बिहीवार सिंहदरबारमा बसेको बैठकले संशोधित मस्यौदा नेपालको संविधानको भाग २८ को धारा २६६(३) बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रस्तुत गर्ने निर्णय गरेको हो।
बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन संवैधानिक व्यवस्थाअनुसार नेपाली सेनाको परिचालन गर्न सिफारिस गर्ने निर्णय पनि गरेको छ।
संविधानको धारा २६६(१) ले आवश्यक परे राष्ट्रिय सुरक्षा सुनिश्चित गर्न निर्वाचन जस्ता संवेदनशील प्रक्रियामा नेपाली सेना परिचालन गर्न सरकारलाई सिफारिस गर्ने अधिकार सुरक्षा परिषद्लाई दिएको छ।
बैठकमा राष्ट्रिय सुरक्षामा आउन सक्ने विविध चुनौतीहरु तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा देखापरेका पछिल्ला घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभाव तथा चुनौतिहरु र अपनाउनुपर्ने भावी रणनीतिका सम्बन्धमा समेत छलफल भएको राष्ट्रिय सुरक्षा परिषद् सचिवालयले जनाएको छ ।