काठमाडौँ । जेन–जी आन्दोलनका क्रममा भएको दमन, गोलीकाण्ड, आगजनी तथा तोडफोडबारे सत्य–तथ्य पत्ता लगाउन गठित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानमा बोलाउने तयारीमा छ ।
भदौ २३ गते आन्दोलनको पहिलो दिन २२ जनाको ज्यान जाने गरी गोली चलाइएको घटनाको वैधानिकता तथा आदेश–निर्देशनको स्रोतबारे स्पष्टिकरण लिन आयोगले दुवैलाई बयानमा डाक्ने योजना बनाएको हो ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजक रहेको तीन सदस्यीय आयोगले केही दिनभित्र पत्राचार गर्ने तयारी रहेको स्रोतहरू बताउँछन् । हाल आयोगले प्रहरी र निजामती कर्मचारीहरूसँग सोधपुछ गरिरहेको र उनीहरूको बयान सकिएसँगै ओली–लेखकलाई बोलाइने जनाएको छ ।
जेन–जी आन्दोलनका विभिन्न समूहहरूले दुवै नेताविरुद्ध कारबाहीको माग गर्दै आएका छन्, जसलाई सम्बोधन गर्ने उद्देश्यले आयोगले बयान लिन चाहेको हो ।
आयोगका संयोजक कार्कीले एक टेलिभिजन अन्तरवार्तामा पनि उच्च राजनीतिक तहका व्यक्तिहरूलाई बयानमा बोलाइने संकेत गरेका थिए । आयोगका अधिकारीहरूले पनि सार्वजनिक रूपमा यो विषयमा प्रस्टोक्तिहरू दिँदै आएका छन् ।
यसअघि आयोगले नक्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, जेलर सत्यराज जोशी तथा आन्दोलनमा खटिएका दुई प्रहरी अधिकृतहरूको बयान लिइसकेको छ ।
यसबीच, पूर्वप्रधानमन्त्री ओलीले सार्वजनिक रूपमा कार्की नेतृत्वको आयोगलाई ‘मान्यता नदिने’ घोषणा गरिसकेका छन् ।
असोज ९ देखि काम सुरु गरेको आयोगलाई तीन महिनाभित्र प्रतिवेदन बुझाउने म्याद छ, जसको समयसीमा पुस ९ मा सकिन लागिएको छ । हालसम्म आयोगले देशभर प्रत्यक्ष अनुगमन गरी काठमाडौं फर्किएर अनुसन्धान तीव्र बनाएको छ ।