शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

राप्रपा र राप्रपा नेपालबीच पुनः संवाद प्रक्रिया सुरु

बुधबार, कार्तिक २६ २०८२

काठमाडौं । विभिन्न कम्युनिष्ट दलबीच एकता प्रयास तीव्र भइरहेका बेला हिन्दुराष्ट्रको एजेन्डा बोकेका दुई दल — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल — बीच पनि पुनः संवाद प्रक्रिया सुरु भएको छ ।

केही समयदेखि स्थगित रहेको संवादलाई पुनः सक्रिय बनाउन दुवै दलले पहल थालेका हुन् । स्रोतका अनुसार, पूर्वउपप्रधानमन्त्री कमल थापा नेतृत्वको राप्रपा नेपाल र राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाबीच पछिल्ला दिनमा अनौपचारिक भेटघाट र विचार–विमर्शहरू भइरहेका छन् ।

मंगलबार दुवै दलका अध्यक्षबीच भएको भेटघाटको जानकारी राजेन्द्र लिङ्देनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । उनले कमल थापासँगको तस्वीर शेयर गर्दै लेखेका छन्, “दाजुभाइको भेटघाट, सबै पक्षमा सकारात्मक कुराकानी।”

त्यस्तै, कमल थापाले पनि अर्को तस्वीर शेयर गर्दै लेखेका छन्, “आज हामीले सौहार्दपूर्ण वातावरणमा भेटघाट गर्‍यौँ। सकारात्मक दिशातर्फ उन्मुख भएका छौं।”

राप्रपा र राप्रपा नेपालबीच विसं २०७६ मा विभाजन भएको थियो । पछिल्लो संवाद प्रक्रियालाई दुई दलबीच पुनः सहकार्य र एकता सम्भावनाको प्रारम्भिक संकेतका रूपमा हेरिएको छ ।