काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री आज नेकपा एमालेमा प्रवेश गर्ने तयारीमा छिन्।
झाँक्रीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, “यो घर फर्क अभियान हाम्रो अभियान हो, हाम्रो लागि हो। हामीसँगसँगै सबै जना कम्युनिस्ट आन्दोलनको मूल प्रवाह नेकपा एमालेमा समाहित हुन घर फर्कने अभियान हो। सबै जना कमरेडहरूलाई यो कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गर्दछु।”
नेकपा एमालेले दिउँसो राष्ट्रियसभा गृहमा ‘घर फर्क राष्ट्रिय अभियान घोषणासभा’ आयोजना गरेको छ। केही दिनअघि अध्यक्ष केपी शर्मा ओलीले विगतमा नेकपा एमाले निर्माण र बलियो बनाउने यात्रामा सँगै हिँडेका सबै नेता–कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गरेका थिए।
झाँक्री माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रसहित अन्य दलहरूसँग एकता गरेपछि असन्तुष्ट भएकी थिइन्। अहिले उनी ‘घर फर्क’ अभियानको हिस्सा बनेर एमालेमा पुनः समाहित हुँदैछिन्।