काठमाडौं । नेपाली काँग्रेसको केन्द्रिय समितिको बैठक आज पनि जारी छ। लामो समयदेखि निरन्तर बस्दै आएको बैठकमा नेताहरूले आफ्ना धारणा राखिरहेका छन्।
बैठक आज सम्पन्न गर्ने तयारी भए पनि विशेष महाधिवेशन र नियमित महाधिवेशन पक्षधर नेताबीच सहमति हुन नसकेको पार्टी स्रोतले जनाएको छ। अधिकांश नेताहरूले नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन बोलाउनुपर्ने माग दोहोर्याएका छन्, तर संस्थापन पक्षले तत्काल विशेष महाधिवेशन सम्भव नहुने अडान लिएको छ।
बैठकमा पार्टीका राजनीतिक र समसामयिक विषयहरूका साथै राष्ट्रिय निर्वाचन, संसद पुनःस्थापना, र आगामी संगठनात्मक रणनीतिबारे नेताहरूले आफ्ना विचार प्रस्तुत गरिरहेका छन्।