काठमाडौं । नेकपा (एमाले) ले एकीकृत समाजवादीभित्र देखिएको विभाजनका बीच समाजवादी नेताहरूसँग संवादको गति बढाएको छ। शनिबार भक्तपुरको गुन्डुमा बसेको एमाले सचिवालय बैठकमा समाजवादी दलको विभाजन र सम्भावित एकीकरणबारे विस्तृत छलफल भएको एमाले स्रोतले जनाएको छ।
बैठकमा उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र सुबास नेम्वाङ पाण्डे लगायतका नेताहरूले समाजवादीका असन्तुष्ट नेताहरूसँग निरन्तर संवाद भइरहेको जानकारी दिएका थिए। केही नेताहरू एमाले प्रवेश गर्न तयार रहेको समेत बैठकमा उल्लेख गरिएको थियो।
स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि “आउन चाहनेहरूलाई स्वागत गर्ने” नीति अघि सारेका छन्। तर, ओलीले सामूहिक रूपमा भन्दा व्यक्तिगत रूपमा फर्काउने रणनीति अपनाउने योजना बनाएको बैठकमा छलफल भएको थियो।
खनाल–ओलीबीच गोप्य संवाद
एमाले स्रोतका अनुसार झलनाथ खनाल र केपी शर्मा ओलीबीच पनि हालै संवाद भएको खुलासा भएको छ। एक साताअघि दुवै नेताबीच टेलिफोन वा प्रत्यक्ष भेटमार्फत कुरा भएको बताइएको छ।
एक सचिवालय सदस्यका अनुसार, “अध्यक्ष ओलीले औपचारिक रूपमा नबताए पनि उहाँ र झलनाथबीच संवाद भएको पुष्टि भएको छ,” स्रोतले भन्यो।
एमालेका नेताहरूको भनाइअनुसार, समाजवादी नेतृ रामकुमारी झाँक्रीसँग सचिव योगेश भट्टराई निरन्तर सम्पर्कमा छन्। यस्तै, पूर्वसांसद किसान श्रेष्ठ र अमरबहादुर थापा पनि एमालेमा फर्किने तयारीमा रहेको बताइएको छ।
एकीकृत समाजवादीमा हाल अध्यक्ष माधवकुमार नेपाल माओवादी केन्द्रसँगको एकता प्रक्रियामा अग्रसर छन्। तर, सो पार्टीभित्रका वरिष्ठ नेता झलनाथ खनाल, घनश्याम भुसाल र रामकुमारी झाँक्रीले त्यस कदमको विरोध गर्दै नयाँ दल निर्माण गर्ने तयारी गरेका छन्।