काठमाडौं । प्रहरी हिरासतमा रहेका टीओबी सदस्य तेन्जिङ दावा लामाको नागरिकता शंकास्पद देखिएपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । ‘मलाई मेरो देश फिर्ता दे’ भन्ने नारा लगाउँदै जेनजी आन्दोलनका क्रममा टिबेटन ओरिजिनल ब्लड (TOB) लेखिएको कालो ज्याकेट लगाएर तोडफोडमा संलग्न लामाको नागरिकता नक्कली भएकाे आशंकामा थप जाेड पुगेकाे छ ।
काठमाडौं महानगरपालिकाको वडा नं. ६ कार्यालयमार्फत जन्मदर्ता गरी नागरिकता सिफारिस गरिएको लामाको जन्मदर्ता फर्जी रहेको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको हो।
स्रोतका अनुसार उनले जन्मेको १० वर्षपछि २०६३ साल चैत १० गते शनिबारका दिन बनाइएको जन्मदर्ताका आधारमा नागरिकता सिफारिस गरिएको थियो। सो सिफारिसको प्रमाण रहने ढड्डा गत भदौ २४ गतेको आगलागीमा नष्ट भए पनि काठमाडौं महानगरपालिकाले सो सिफारिस आफूले नगरेको स्पष्ट पार्ने पत्र प्रहरी परिसरलाई पठाएको जनाएको छ।
अर्थात्, तेन्जिङ लामालाई नागरिकता दिलाउन प्रयोग गरिएको आधार नै गलत प्रमाणित भएको हो। सोधपुछका क्रममा उनले आमाले कसरी सिफारिस गराइन् भन्ने विषयमा आफूलाई जानकारी नभएको बयान दिएका छन्।
तेन्जिङले सोही नक्कली नागरिकताको आधारमा राष्ट्रिय परिचयपत्र र राहदानी समेत बनाइसकेका थिए। उनी उक्त राहदानीको प्रयोग गरी अस्ट्रेलिया जाने तयारीमा रहेको खुलेको छ।
यस घटनाले नेपालमा लुकेर बस्ने, घुसका माध्यमबाट नक्कली नागरिकता र राहदानी प्राप्त गर्ने तथा विदेशी स्वार्थमा देशभित्र अराजकता फैलाउने समूहहरू सक्रिय रहेको पुष्टि गरेको प्रहरीको मूल्यांकन छ।
सुरक्षा निकायका अधिकारीहरूले यस प्रकरणलाई ‘गम्भीर राष्ट्रिय सुरक्षासम्बन्धी विषय’ मानेका छन्। उनी सात दिनअघि पक्राउ परेका हुन्, र २५ दिनभित्र अनुसन्धान सकाएर मुद्दा अदालतमा दर्ता गर्नुपर्ने कानुनी म्याद बाँकी छ।