शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

विपद्पछि पुनःनिर्माणमा एकजुट हुन माओवादी केन्द्रकाे आह्वान

मंगलबार, असोज २१ २०८२

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले देशभर आएको भारी वर्षा र विपद्पछि पुनःनिर्माणमा सबै एकजुट भएर लाग्न आह्वान गरेको छ।

सोमवार पार्टी केन्द्रीय कार्यालय, पेरिस डाँडामा बसेको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका नेता अग्निप्रसाद सापकोटाले पार्टीले यस्तो आह्वान गरेको जानकारी दिए। उनका अनुसार, बैठकमा देशभर वर्षाले पुर्‍याएको क्षतिको गम्भीर समीक्षा भएको छ।

सापकोटाले हालसम्मको विवरणअनुसार ५५ भन्दा बढीको मृत्यु भएको खबर प्राप्त भएको बताउँदै सबैभन्दा बढी जनधनको क्षति १ नम्बर प्रदेश (कोशी प्रदेश) मा भएको र लोकमार्गहरू अवरुद्ध रहेको छ। मधेस क्षेत्रमा पनि भारी वर्षा हुँदा तीन जनाको मृत्यु भएको छ।

उनले राहत उद्धारमा संलग्न पार्टीका वाइसिएल र अन्य सदस्यहरूलाई धन्यवाद दिँदै, पुनःनिर्माणका लागि एकजुट भएर लाग्न सबैमा आह्वान गरे ।

सापकोटाले निर्वाचनको विषयमा सबै राजनीतिक दलहरू निर्वाचनमार्फत संविधानलाई निरन्तरता दिन सहमत रहेको बताएका छन्। उनले नेपाली काँग्रेस र नेकपा एमाले लगायतका दलहरूसँग छलफल जारी रहेको जानकारी दिनुभयो।

पार्टीको सचिवालय बैठक दुई दिनपछि पुनः बस्नेछ। बैठकमा समाजवादी मोर्चा सक्रिय पार्ने, पार्टी एकता र विचार मिलाउने पहलहरू सम्बन्धमा छलफल भइरहेको छ। सापकोटाका अनुसार पार्टीलाई एकतावद्ध गर्दै सकारात्मक पहल जारी राख्ने र तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न संसदमा रहेका सबै दलहरूसँग सहकार्य गर्ने निर्णय गरिएको छ।