काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०४६ सालपछि सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न तत्काल उच्चस्तरीय आयोग गठन गर्नुपर्ने बताएका छन् ।
थापाले आमनागरिकको विश्वास रहने पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा आयोग गठन गरी सम्पत्ति छानबिन र भ्रष्टाचार नियन्त्रणको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए । यसका लागि आवश्यक परे संविधान संशोधनदेखि भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी कानुनमा संशोधन गर्नुपर्ने उनको भनाइ छ ।
विज्ञप्ति मार्फत उनले जेन–जी पुस्ताले सुरु गरेको शान्तिपूर्ण आन्दोलनमा देखिएका अवाञ्छित र हिंसात्मक गतिविधि दुःखद भएको बताए । साथै, आन्दोलनका क्रममा भएको दमन र आक्रमणको नैतिक जिम्मेवारी लिएर गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु परेको पनि स्पष्ट पारे ।
सामाजिक सञ्जाल अभिव्यक्ति स्वतन्त्रताको महत्त्वपूर्ण मञ्च भएको भन्दै उनले त्यसलाई बन्द गर्नु गलत भएको टिप्पणी गरे । “सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने नाममा ल्याइएको निर्देशिका, २०८० संविधान र कानुनसम्मत नभएकाले खारेज गर्नुपर्छ,” थापाले भने ।
उनले जेन–जीको आन्दोलनलाई संयमता र संवादमार्फत अघि बढाउनुपर्नेमा समेत जोड दिएका छन् ।