शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सरकार निजी क्षेत्रको आत्मविश्वास बढाउँदै मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध : अर्थमन्त्री पौडेल

आइतबार, भाद्र १५ २०८२

काठमाडौँ  । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार निजी क्षेत्रको आत्मविश्वास बढाउँदै मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको बताएका छन्।

ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को ४७औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले पर्यटन प्रवद्र्धन र राष्ट्रिय अर्थतन्त्र सुदृढीकरणमा सरकार विशेष ध्यान दिइरहेको उल्लेख गरे। पौडेलले भने, “हामीले सरकार सम्हाल्दा अर्थतन्त्रका सबै सूचक नकारात्मक अवस्थामा थिए, तर अहिले ती सूचकहरू सकारात्मक मोडतर्फ गएका छन्।”

भ्याट छुट दिन सक्ने अवस्था अहिले नरहेको स्पष्ट पार्दै उनले राजस्वबाट सामान्य खर्च धान्नै मुस्किल रहेको बताए। तर, व्यवसाय प्रवद्र्धनका लागि योजना–कार्यक्रम ल्याए सरकार सहजीकरण गर्न तयार रहेको उनले आश्वासन दिए।

पौडेलका अनुसार वर्तमान सरकार बलियो र स्थिर रहेको छ र यही सरकार २०८४ सालको निर्वाचनसम्म निरन्तर रहनेछ। उनले नीतिगत स्थिरता कायम गर्दै नीति–कार्यक्रम तथा बजेट कार्यान्वयनमा विशेष जोड दिइएको बताए।

सो अवसरमा ‘टान’ अध्यक्ष सागर पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधार र पूर्वाधार विकासमा सरकारले प्राथमिकता दिनुपर्ने सुझाव दिए। कार्यक्रममा पर्वतीय पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने संघसंस्था र सञ्चारकर्मीलाई सम्मान तथा पुरस्कार पनि प्रदान गरिएको थियो।