शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

०८४ आए माओवादी गए

सोमबार, भाद्र ९ २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका लागि अब चुनावी राजनीति पेचिलो बन्ने सम्भावना बढेको छ।

मिशन २०८४ भनेर सबै दल कम्मर कसेर लागि परेका छन्। खासगरी ०८४ को सान्दर्भिकता चुनावसँग जोडिएको छ। चुनाव हुने या नहुने भन्ने यीनै प्रतिनिधि सभामा रहेका दलका नेतालाई नै थाहा छैन।

नेपालको इतिहासमा दुई वटा आवधिक निर्वाचन सकिएपछि फेरि राजनीतिक अस्थीरता मात्रै भएका इतिहासको फेहरिस्त ००७ सालदेखि ०१७ साल होस् या ०५० र ०५६ सालको आवधिक निर्वाचनपछि राजनीतिक अस्थीरता देखिएको थियो। एकै पटक संविधान सभाका दुई वटा ०६४ र ०७० को निर्वाचनपछि नयाँ संविधान जारीसँगै ०७४ र ०७९ मा निर्वाचन भैसकेको छ।

दुर्लभताका साथ २६ बर्षअघिको क्रमभङ्गता नभएको खण्डमा निर्वाचन भयो भने के होला? कुन राजनीतिक दलको साइज कस्तो होला? अहिले जसरी सन्जालदेखि सडकसम्म भैरहेका राजनीतिक लहड र लहरका परिदृश्यले कस्तो राजनीतिक आयामलाई प्रतिस्थापन गर्ला? खासगरी प्रतिनिधि सभामा रहेका पहिलो, दोस्रो, तेस्रो र चौथो दलको बर्गफल कस्तो होला?

चौथो राष्ट्रिय शक्ति बनेको रास्वपाको यहि गतिको हल्ला चलिरहेको खण्डमा आगामी निर्वाचनमा सबैभन्दा ठूलो राजनीतिक घाटा माओवादीलाई हुने देखिन्छ।

माओवादीले ०६४ को संविधान सभा निर्वाचनपछि ०७० मा भोगेको अपूरणीय क्षति थियो। त्यसपछि उक्त दलले आफूलाई टिकाउन एमाले र कांग्रेससहितको गठबन्धनको भरमा उभिएको थियो।

स्थानीय तहको उपनिर्वाचनमा अलिकति हौसिएको उक्त पार्टी अहिले चलेको रास्वपाको हल्लाकाबीच हच्किएको अवस्था छ।

कांग्रेस एमालेको साइजमा परिवर्तन आउन सक्ला। केही साना होलान्। केही क्षति पनि होला। तर यी दल बानी परेका छन्। ०६४ माओवादी सबैभन्दा ठूलो दल बन्दा कांग्रेस र एमाले नराम्रोसँग खुम्चिएका थिए। तर, उनीहरु ०७० सालको चुनावमा माओवादीलाई नै सीमित साइजमा ल्याएर पहिलो र दोस्रो दल बनेका थिए।

०७४ मा एमालेसँग मिलेर कांग्रेसलाई केही सानो बनाउनका लागि माओवादी सक्षम भयो। पहिलो दल एमाले बन्दा माओवादी तेस्रोमा नै सीमित हुँदा कांग्रेस ६३ (समानुपातिक पनि) सीटसहित दोस्रो भयो। तर केपी शर्मा ओली र प्रचण्डको विवादका कारण दल विभाजित भयो। एमालेलाई फुटाउने प्रयोगमा पनि माओवादी सफल भयो। कांग्रेससँग गठबन्धन गरेर एमालेलाई भित्तामा नै पुराइदिने योजना रचेर ०७९ को चुनावमा जाँदा पनि उक्त दल दोस्रो भएर सदनमा छिरेको थियो।

तर माओवादी ठूलो गठबन्धन बनाउँदा पनि ३२ सिटमा खुम्चिनु परेको थियो। उसको हाराहारीमा आएको रास्वपा अहिले आक्रामक रुपमा सडकमा, समुदायमा छिरिरहेका कारण जरा गाडेका कांग्रेस र एमालेलाई अपेक्षित क्षति भए पनि माओवादीमा अनपेक्षित हुने देखिएको छ।