ताप्लेजुङ । नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले पार्टीभित्र हाल कुनै गुट नभएको दाबी गरेका छन्।
प्रेस चौतारी ताप्लेजुङले आइतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सिंगो पार्टी एकताबद्ध रहेको बताए ।
उनले देशको आवश्यकता अनुरूप नेकपा एमाले र नेपाली कांग्रेसबीचको गठबन्धनसहितको सरकार गठन भएको र आगामी निर्वाचनसम्म यही सरकार रहने स्पष्ट गरे ।
भट्टराईले गत वर्ष एमालेको नेतृत्वमा बनेको सरकारले देशको आर्थिक अवस्था सुधार गरेको, अन्तर्राष्ट्रिय सम्बन्ध मजबुत पारेको, कतिपय कानुन संशोधन गरेको र विकासका कामलाई तीव्रता दिएको दाबी गरे।
संविधान संशोधनसम्बन्धी सुझाव दिँदै उनले स्थानीय तहको संख्या घटाएर वडा संख्या बढाउनुपर्ने, उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्षको भूमिकामा राख्नुपर्ने र संवैधानिक आयोगहरूको संख्या घटाउनुपर्ने धारणा राखे ।
वर्तमान सरकारले मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढाएको र निजी क्षेत्रलाई प्रोत्साहन गर्दै लगानी आकर्षित गर्ने वातावरण निर्माण गरेको भट्टराईले बताए । उनका अनुसार थुप्रै आर्थिक ऐन संशोधन भएका, केही नयाँ ऐन बनेका र विदेशी लगानीलाई निरुत्साहित गर्ने प्रावधानलाई पनि संशोधन गरिएको छ ।
साथै, भट्टराईले जिल्लामा सञ्चालनमा रहेका वा तयारी अवस्थामा रहेका ठूला विकास परियोजनाहरूलाई कुनै पनि अवरोध बिना अघि बढाउन आवश्यक रहेको औँल्याए ।