काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले साताको शनिबार ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङ पक्राउ गरेपछि प्रहरी कडा एक्शनमा रहेको छ।
खासगरी जिल्ला प्रहरी परिसरका प्रमुख बरिष्ठ उपरिक्षक (एसएसपी) विश्व अधिकारी शान्ति सुरक्षाका निम्ति खरो भएर उत्रिएका छन्। उनलाई सहकर्मी समेत रहेका उपत्यका अपराध अनुसन्धानका प्रमुख एसएसपी रमेश बस्नेतले पनि समन्वयात्मक सहजीकरण गरेका छन्।
त्यसका लागि मुलुकको राजधानी जस्तो सहरमा सल्बलाउन थालेको त्रासदी र गुन्डागर्दी नियन्त्रणमा उनी खरो रुपमा उत्रिएका छन्।
दुई दिनको दौरानमा एक सयभन्दा बढी जनालाई गुन्डागर्दीमा लागेर त्रास फैलाउन सक्ने भएपछि नियन्त्रणमा लिएका थिए।
खासगरी महाराजगञ्ज क्षेत्रका गुन्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलन र इन्काउन्टरमा मारिएका कुमार श्रेष्ठ ‘घैंटे’ समूहमा रहेका युवराज गुरुङ ‘सानोभाई’लाई पक्राउ गरेपछि उनको चर्चा ह्वात्त बढेको छ।
एसएसपी अधिकारी भन्छन्,‘राजधानीलाई त्रासदीको होइन, राजधानी जस्तो शान्त सहर बनाउन आवश्यक छ।’
यस क्रममा चक्रे मिलनसहित उक्त समूहका कतिपयलाई ७ दिन प्रहरी थुनामा राखी अनुसन्धान गर्ने अनुमति समेत लिइसकेका छन्।
चक्रे मिलनसहित १९ जनालाई सार्वजनिक हितविरुद्धको कसुरमा प्रहरीले थुनामा राखेर अनुसन्धान अघि बढाएका हुन्।
बिहीबार राति चक्रेको जन्मदिन मनाउने नाममा काठमाडौंको महाराजगञ्जस्थित साम्बाला होटल नजिकको क्षेत्रमा गरिएको होहल्ला, सडकमा भिड जम्मा गरी केक काट्ने र स्कर्टिङजस्ता गतिविधिका कारण उनीहरू पक्राउमा परेका हुन्।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार समातिएका ४७ मध्ये चक्रे मिलन समूहका १९ जनाविरुद्ध अभद्र व्यवहार र शान्ति सुरक्षामा खलल गरेको आरोपमा ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
प्रहरीका अनुसार बाँकी २८ जनालाई स्क्रिनिङपछि प्रमाण अभावका कारण छाडिएको हो।
पक्राउ परेका १९ जनामा चक्रे मिलनसँगै गणेशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दीप केसी, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आले मगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाही छन्।
अधिकारीका अनुसार, प्रहरीले बिहीबार मात्रै काठमाडौंका विभिन्न स्थानबाट १०४ जना नियन्त्रणमा लिएकोमा चक्रे समूहका ४७ जना समातिएका थिए।
अधिकारी नेपाल प्रहरीको नारा ‘प्रहरी मेरो साथी’का जन्मदाता पनि हुन्। एसएसपीमा एक नम्बरमा बढुवा हुनासाथ उनको पहिलो इन्चार्ज भएर पोस्टिङ परिसरमा भएको थियो।
बुधबार राति ठमेलकै नगरकोट दोहोरीमा दुई गुण्डा समूहबीच झडप हुँदा ‘सानुभाइ’ का नामले चिनिने पटक्के गुण्डा युवराज गुरुङसहित तीनजना पक्राउ परेका थिए।
शनिबार पक्राउ परेका क्ल्ब ओम्नियाका सञ्चालक सोही घटनासँग सम्बन्धित रहेको प्रहरीले जनाएको छ।
बुधबार राति नगरकोट दोहोरीबाट नुवाकोट, ककनी गाउँपालिका–५ का युवराज गुरुङसहित नुवाकोट, सूर्यगढी नगरपालिका–२ का ३० वर्षीय रवीन्द्र गुरुङ र पाँचथर फिदिम नपा– १० का २६ वर्षीय दीलकुमार तुम्बाफो पक्राउ परेका थिए।
२०८० साउनमा ओम्निया क्लबमा भएको झडपमा ‘सानुभाइ’ का नामले चिनिने पटक्के गुण्डा युवराज गुरुङले उक्त क्लबका सञ्चालक राजेन्द्र गुरुङमाथि आक्रमण गरेका थिए।
प्रहरीद्वारा पक्राउ गरिएका ‘सानुभाइ’ साउन १० मा धरौटीमा रिहा भए। गत बुधबार उनै ‘सानुभाइ’ नगरकोट दोहोरीमा रहेको सूचना पाएपछि उनीमाथि आक्रमण गर्न ओम्नियाका सञ्चालक गुरुङले रवीन्द्र गुरुङ र दीलकुमार तुम्बाफोलाई पठाएका थिए।
उनीहरू पक्राउ परेपछि बयानका क्रममा ओम्नियाका सञ्चालक गुरुङले पठाएर गएको भनेपछि उनी पक्राउ परेको बताइएको छ।
‘अपराध र आतंक मच्चाउनेलाई त कुनै पनि हिसाबमा कानुनले छुट दिँदैन, दिनु हुँदैन। प्रहरीको काम शान्ति सुरक्षा कायम गराउने हो’, एसएसपी अधिकारी भन्छन्,‘यसमा नागरिकलाई ढुक्क बनाउने जिम्मा प्रहरीले लिन्छ। प्रहरीले नियमित काम गरिरहेको छ।’