बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयद्वारा मन्त्रालयगत छलफल सुरु

आइतबार, साउन १८ २०८२

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यसहित अर्थ मन्त्रालयले विषयगत मन्त्रालयहरूसँग छलफल प्रक्रिया सुरु गरेको छ।

यसैक्रममा  आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग पहिलो चरणको छलफल सम्पन्न भएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जनाएको छ।

छलफलमा मन्त्रालयगत योजनाहरू कार्यान्वयन गर्न आवश्यक कानुनी, प्रक्रियागत र व्यवहारिक तयारीबारे विस्तृत बहस गरिएको थियो। विशेष गरी उद्योग मन्त्रालयको बजेटमा समेटिएका परम्परागत सीप, कला र पेशाको संरक्षण गर्दै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्ने उद्देश्यका कार्यक्रमहरू कार्यान्वयनको प्राथमिकतामा रहेको बताइएको छ।

‘भगत सर्वजित उद्यमशिलता विकास कार्यक्रम’ अन्तर्गत आधुनिक प्रविधि हस्तान्तरण, तालीम, र उत्पादित वस्तुको बजारसँग जोड्नेसम्बन्धी कार्यक्रमबारे पनि छलफल गरिएको थियो।

बैठकमा उपत्यकामा रहेका उद्योगहरूलाई बाहिरी औद्योगिक क्षेत्रमा स्थानान्तरण गरी प्रदूषण नियन्त्रण गर्ने र स्थानान्तरण हुने उद्योगलाई विशेष सहुलियत दिनेसम्बन्धी प्रस्तावबारे पनि गम्भीर छलफल भएको जनाइएको छ।

त्यसैगरी, नेपालमा अन्तरराष्ट्रियस्तरको गुणस्तर प्रयोगशाला स्थापना गर्ने र त्यसलाई भारत, चीनलगायत अन्तरराष्ट्रिय समुदायबाट मान्यता दिलाउने विषयमा समेत छलफल गरिएको हो। साथै, मकवानपुरको मयुरधाप र चितवनको शक्तिखोरमा आधुनिक औद्योगिक क्षेत्र निर्माणको तयारीसमेत बैठकको एजेन्डामा समावेश थियो।

छलफलमा अर्थमन्त्री पौडेल, उद्योग मन्त्री दामोदर भण्डारी, अर्थसचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे, उद्योग सचिव डा. रामप्रसाद घिमिरेलगायत उच्च अधिकारीहरूको सहभागिता थियो।

अर्थ मन्त्रालयले चालु वर्षको बजेट कार्यान्वयनलाई सुनिश्चित गर्न सबै विषयगत मन्त्रालय र विभागहरूसँग क्रमशः छलफल गर्ने तयारी गरेको छ।