आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

नेकपा एसमा वामदेव गौतमको असन्तुष्टि, गौतमको मागबारे पार्टीभित्र मतभेद

आइतबार, साउन १८ २०८२

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेको दुई सातामै वरिष्ठ नेता वामदेव गौतम असन्तुष्ट भएका छन्।

पार्टी प्रवेशसँगै संगठन विभाग प्रमुखको जिम्मेवारी मागेका गौतमको मागबारे पार्टीभित्र मतभेद चुलिएको छ। हाल सो विभागको नेतृत्व उपाध्यक्ष वेदुराम भुसालले गरिरहेका छन्।

गौतमले संगठन विभागको जिम्मेवारी आफूमा “काम गर्ने हुटहुटी” रहेको आधारमा मागेको बताउँदै आएका छन्। तर, पार्टीका नेताहरूले उनको यो मागलाई “पार्टी कब्जा गर्ने प्रयास” को रूपमा लिँदै असहमति जनाएका छन्।

नेकपा एसका उपाध्यक्ष जगन्नाथ खतिवडाले यो विषय सचिवालयमा औपचारिक रूपमा नउठेको जानकारी दिँदै भने, “गौतमले अध्यक्षसँग व्यक्तिगत रूपमा कुरा गर्नुभएको होला, तर औपचारिक छलफलपछि मात्रै कुनै निर्णय हुनेछ।”

पार्टीका एक वरिष्ठ पदाधिकारीका अनुसार गौतमलाई संगठन विभाग दिने आश्वासनसहित पार्टीमा भित्र्याइएको थिएन। “उहाँ निसर्त पार्टीमा प्रवेश गर्नुभएको हो। जिम्मेवारी अध्यक्षको तजबिजमा निर्धारण हुन्छ,” पदाधिकारीको भनाइ छ।

गौतम गत साउन २ गते केही सहकर्मीसहित नेकपा एसमा प्रवेश गरेका थिए। एमालेमा पुनः प्रवेश गर्ने प्रयास सफल नभएपछि उनले नेकपा एस रोजेका हुन्। पार्टी प्रवेशको अवसरमा गौतमले “समाजवाद निर्माणको अभियानमा समर्पित हुने” प्रतिबद्धता जनाएका थिए।

उक्त अवसरमा उनले आफू एक्लै नभई “नेकपा एकता राष्ट्रिय अभियान” का ७५ सदस्यीय केन्द्रीय कमिटी, एक प्रदेश कमिटी, उपत्यकाका नौवटा जिल्ला कमिटीसहित पार्टीमा आएको दाबी पनि गरेका थिए।

तर, पार्टीले आफूलाई “एक्लै प्रवेश गरेको” जस्तो व्यवहार गर्दै संगठन विभागको जिम्मेवारी नदिएकोप्रति गौतमले असन्तुष्टि जनाएका छन्। अहिलेको अवस्थामा गौतम र पार्टी नेतृत्वबीचको यो दूरी निकट भविष्यमा थप गहिरिने संकेत देखिएको छ।

 

 

 

 

Ask ChatGPT