शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ

बिहिबार, साउन १५ २०८२

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ सामाखुशी टाउनप्लानिङबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९ ग्राम २ सय २० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ८२ हजार ६ सय ३५ रूपैयाँ सहित सोही ठाउँ डेरा गरी बस्ने झापा मेचीनगर नगरपालिका–१० घर भएका ३३ वर्षीय शंकर राजवंशीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।

यसैगरी काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ पिपलामोडबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १४ हजार ७ सय ६० ट्याब्लेट र नगद ६० हजार रूपैयाँ सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा बिन्दबासिनी गाउँपालिका–९ बस्ने २० वर्षीय राज कुमार पटेल र सोलुखुम्बु घर भएका १८ वर्षीय किशोर रहेका छन् । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बा.प्र.०२–०५७ प १५१५ नम्बरको मोटरसाइकल र बा.७२ प ६६२७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका–१४ कलंकीबाट नियन्त्रित लागूऔषध ट्रामानिल १ हजार १ सय २० ट्याब्लेट सहित ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका–११ घर भएका ३४ वर्षीय आशिष विक, ३० वर्षीय मनबिर गुरुङ र पोखरा बस्ने तनहुँ घर भएका १७ वर्षीय किशोर रहेका छन् । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उक्त स्थानमा पार्किङ गरी राखेको ग.१ ख ३९६१ नम्बरको माईक्रो भ्यान तलासी गर्दा उक्त लागूऔषध फेला पारी चालक आशिष विक सहित ३ जनालाई पक्राउ गरेको हो ।

यसैगरी काठमाडौंको गोकर्णेश्‍वर नगरपालिका–२ नाम्यागेलबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ६ सय ट्याब्लेट सहित ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–४ नाम्यागेल बस्ने कालिकोट घर भएका २५ वर्षीय सरोज शाही, सिन्धुपाल्चोक घर २४ वर्षीय सूर्य लामा र काभ्रेपलाञ्चोक खानिखोला गाउँपालिका–५ घर भएका ३३ वर्षीय बिमल मगर रहेका छन् । प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ६ सय ३० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१३ मोहनपुर बस्ने २६ वर्षीय विशाल चौधरी र २४ वर्षीय दिपक चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले से.६ प २६६१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–९ श्रीरामनगर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २० मिलिग्राम सहित सोही उपमहानगरपालिका–१० घुईयाघाट बस्ने २० वर्षीय सुरेन्द्र रानालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ ।

कास्कीको पोखरा महानगरपालिका–६ नारेश्वरबाट अवैध लागूऔषध गाँजा ५ किलो ४० ग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने स्याङ्जा बिरूवा गाउँपालिका–५ शिखरसी घर भएका २४ वर्षीय बिक्रम परियारलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

भक्तपुरको भक्तपुर नगरपालिका–१० कमलबिनायक पाइपलाईनबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ५० ट्याब्लेट सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने काभ्रे पनौती घर भएका ३६ वर्षीय रमेश दाहाल र काभ्रे मण्डन देउपुर नगरपालिका–६ घर भएका २७ वर्षीय नबिन चौलागाई रहेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

नवलपरासी पूर्व, बिनयी त्रिवेणी गाउँपालिका–६ केउलानीस्थित अजय चाइनिज फास्ट फुड पसलबाट नियन्त्रित लागूऔषध स्पास्मो १ सय ६२ क्याप्सुल सहित पसलका संचालक सोही ठाउँ बस्ने ४५ वर्षीय अजय ठाडा मगरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय त्रिबेणीबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

बाराको फेटा गाउँपालिका–१ भलुहिबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४७ ग्राम १ सय ८० मिलिग्राम सहित विश्रामपुर गाउँपालिका–१ घोडासाहन बस्ने २२ वर्षीय अजमुल हक अंसारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ लिङ्गेटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्राम सहित सोही नगरपालिका–२ पानी ट्याङ्की बस्ने २३ वर्षीय कृष्ण चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट लिङ्गेटबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको लु.५ प ३३२६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।