शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

झण्डै पाँच अंकले घट्यो नेप्से, कारोबार रकम आठ अर्ब रुपैंयाँ नजिक

बिहिबार, असार १२ २०८२

काठमाडौं । नेप्से झण्डै पाँच अंकले घटेको छ । अघिल्लो दिन शुन्य दशमलव ३३ अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार चार दशमलव ४५ अंकले घटेर २५ सय ९५ दशमलव ७४ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २१ अंकले घटेर चार सय ४३ दशमलव ९० अंकमा पुगेको छ । तीन सय छ वटा कम्पनीहरुको ७४ हजार दुई सय ३९ पटकको कारोबारमा एक करोड ९६ लाख ५० हजार दुई सय १० कित्ता शेयर किनबेच भएकोमा आज कुल कारोबार रकम सात अर्ब ७८ करोड दुई लाख ४२ हजार दुई सय ४३ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा चार वटा समुहले कमाए पनि बाँकी समुहले भने गुमाएका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक एक दशमलव ६० अंकले घटेर १३ सय ३२ दशमलव ६९ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि ४२ दशमलव ९५ अंकले घटेर १२ हजार चार सय ६१ दशमलव ५५ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि ४९ दशमलव सात अंकले घटेर ११ हजार आठ सय ८१ दशमलव ६४ अंकमा पुगेकोमा फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन् । बिकास बैंक समुहको सुचक भने ५२ दशमलव ८८ अंकले बढेर पाँच हजार दुई सय ९६ दशमलव ८२ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि तीन दशमलव ८२ अंकले बढेर तीन हजार पाँच सय ५२ दशशमलव २२ अंकमा पुगेको छ । लघुवित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडले सबैभन्दा कमाउँदा रिलायवल समृद्धि योजनाले सबैभन्दा बढी गुमाएको छ । बुटवल पावर कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।