काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गरेको छ ।
अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्यूरिटीले नेपालको अहिलेको अवस्थाबारे समीक्षा र अन्य सरकारी निकायबीच परामर्श गरेपछि टीपीएस खारेज गर्ने निर्णय गरिएको जनाएको छ ।
बिहीबारबाट लागू हुने गरी ६० दिनभित्र अमेरिकामा बस्दै आएका नेपालीहरुले स्वैच्छिकरुपमा अमेरिका छोड्नुपर्नेछ वा अन्य वैकल्पिक कानुनी मार्ग अपनाउनुपर्नेछ ।
खारेजीको यो निर्णयसँगसँगै आगामी अगष्ट ५ उप्रान्त सोही स्टाटसमा बसेका नेपालीहरु अवैध हुनेछन् । यस अघि डिसेम्वर २४ सम्म नेपालीहरुले टीपीएस सुविधा पाउने बताइएको थियो । टीपीएस खारेजीपछि करिब सात हजार पाँच सय नेपालीहरु प्रभावित हुने छन् ।
अमेरिकी गृह सुरक्षा विभागले बिहीबार जारी गरेको विज्ञप्तिमा नेपालको टीपीएस खारेजीको कुरा उल्लेख छ । अमेरिकी गृह सुरक्षा सचिव क्रिष्टी नोमले अमेरिकी सरकारका निकायहरुले नेपालको वर्तमान अवस्थाको बारेमा दिएको सुझाबलाई मनन गरी नेपाललाई टीपीएस सुविधा दिइरहनुपर्ने आवश्यकता नभएकोले सो खारेज गरेको बताउनुभएको छ । नेपालमा गएको भूकम्पका कारण भत्किएका संरचनाहरु पुनर्निर्माण भइसकेको पनि सो विज्ञप्तिमा उल्लेख छ ।
यस अघि ट्रम्प प्रशासनले हाल कायम रहेका नेपाललगायत १७ देशका आप्रवासीहरुको टिपीएस खारेज गर्ने निर्णय गरेको थियो ।
प्राकृतिक विपत्ति, सशस्त्र द्वन्द्व र महामारी जस्ता कारणले आफ्नो देशबाट भागेर आएका वा ल्याइएका आप्रवासीहरुलाई अमेरिकाले अस्थायी रुपमा काम गर्ने गरी अनुमति टीपीएस दिने गरेको छ ।