चार बर्षे कार्यकालमा बैंकले थप उचाई लिने अपेक्षा
काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोजकुमार ज्ञवाली नियुक्त भएका छन् । यसअघि कायमुकायम सीईओ रहेका उनलाई बैंक सञ्चालक समितिको बिहीबारको बैठकले सीईओमा चयन गरेको हो। २२ गतेदेखि लागू हुने गरि चार वर्षका लागि उनी प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन्।
ज्ञानेन्द्र ढुंगानाले चैत १० गतेदेखि लागू हुने गरी सीईओबाट राजीनामा दिएपछि कायममुकायम सिइओको भूमिका निर्वाह गर्दै आएका ज्ञवाली बैकिङ क्षेत्रमा स्पष्ट वक्ताका रुपमा चिनिन्छन् । उनले नेपाल राष्ट्र बैंक लगायत विभिन्न वाणिज्य बैंकको व्यवस्थापन तहमा नेतृत्वदायी भूमिकामा रही बैंकिङ क्षेत्रको अनुभव बटुलीसकेका छन्।
चार्टड एकाउन्टेन्ट समेत रहेका ज्ञवालीसँग बैंकहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक, ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल र ज्योति विकास बैंकसहित पुँजीबजार तथा बैंकिङ क्षेत्रमा २६ वर्ष लामोे अनुभव छ । ज्ञवालीको कुशल र सक्षम नेतृत्वमा आगामी दिनमा नबिल बैंक लिमिटेडले विभिन्न वित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थान हासिल गर्दै थप उचाइ प्राप्त गर्ने आशा गरिएको छ।
त्यस्तै सोही समितीले नायब महाप्रबन्धक आदर्श बजगाँइलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको छ भने प्रमुख कानुन विभाग भिष्म न्यौपानेलाई कम्पनी सचिवको जिम्मेवारी दिएको छ । नेपाली बैंकिङ क्षेत्रमा निकै नैं कुशल व्यवस्थापकीय क्षमता भएका ज्ञवालीको कार्यकालमा बैंकले थप उचाई लिने अपेक्षा गरिएको छ । हाल चुक्ता पुँजी २७ अर्ब पाँच करोड ६९ लाअ ९७ हजार रुपैंयाँ रहेको बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा पाँच खर्ब दुई अर्ब १० करोड ६१ लाख ९५ हजार रुपैंयाँ निक्षेप संंकलन गरी चार खर्ब ६२ अर्ब नौं करोड ७४ लाख १९ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा १२ अर्ब पाँच करोड ४४ लाख २५ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकले गत आवको सोही अवधिमा १२ अर्ब ५१ करोड १३ लाख ६७ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको थियो ।
बैंकले चालु आवको तेस्रो त्रैमासमा पाँच अर्ब पाँच करोड १४ लाख १९ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा चार अर्ब ६६ करोड ८० लाख २९ हजार रुपैंयाँ रहेको थियो । हाल एक दशमलव ५९ प्रतिशत कर्जा निष्क्रिय रहेको बैंकको गत आवको सोही अवधिमा एक दशमलव २७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो।