लाहोर । पाकिस्तान सुपर लिग (पिएसएल) क्रिकेटको उपाधि लाहोर कलन्दर्सले जितेको छ । आइतबार भएको फाइनलमा क्वेट्टा ग्लाडिएटर्सलाई ६ विकेटले हराउँदै लाहोरले उपाधि जितेको हो । २०२ रनको लक्ष्य लाहोरले १ बल बाँकी छँदै ४ विकेटको क्षतिमा पूरा ग¥यो । लाहोरलाई जिताउन कुशल परेरा र सिकन्दर राजाले सानदार फिनिसिङ गरे ।
परेराले अविजित रहँदै ६२ रन बनाउँदा सिकन्दर राजाले ७ बलमा अविजित २२ रन बनाए । अन्तिम ओभरमा १३ रन आवश्यक रहँदा सिकन्दरले चौथो बलमा छक्का र पाँचौं बलमा चौका प्रहार गरेका थिए । क्वेटाका मोहम्मद आमिर, फहीम अशरफ, अबरर अहमद र उस्मान तरिकले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्वेटाले २० ओभरमा ९ विकेट गुमाएर २०१ रन बनाएको थियो । हसन नवाजले सर्वाधिक ७६ रन बनाए । अभिस्का फर्नान्डोले २९ तथा फहीम अशरफले २८ रन बनाए । लाहोरका शाहीन अफ्रिदीले ३ विकेट लिँदा सलमान मिर्जा र हारिस राउफले २-२ तथा सिकन्दर राजा र रिशाद होसेनले १-१ विकेट लिए । एजेन्सी ।