शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

तीन खर्ब ६८ अर्ब रुपैंयाँले बढ्यो बैंकिङ क्षेत्रको निक्षेप

घरजग्गा धितो सुरक्षणमा मात्र ६५ दशमलव दुई प्रतिशत कर्जा

सोमबार, जेष्ठ १२ २०८२

काठमाडौं । बैंकिङ क्षेत्रको कुल निक्षेप परिचालन बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको नौं महिनाको अवधिमा बैंकिङ क्षेत्रको कुल निक्षेप पाँच दशमलव सात प्रतिशत अर्थात तीन खर्ब ६८ अर्ब ४७ करोड रुपैंयाँले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप सात दशमलव दुई प्रतिशत अर्थात चार खर्ब नौं अर्ब चार करोड रुपैंयाँले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ११ दशमलव पाँच प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार २०८१ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः पाँच दशमलव सात प्रतिशत, ३५ दशमलव आठ प्रतिशत र ५१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः पाँच दशमलव दुई प्रतिशत, २९ दशमलव एक प्रतिशत र ५८ दशमलव नौं प्रतिशत रहेको थियो । २०८१ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५ दशमलव चार प्रतिशत रहेको छ । २०८० चैत मसान्तमा यस्तो निक्षेपको अंश ३५ दशमलव सात प्रतिशत रहेको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा भने सात दशमलव एक प्रतिशत अर्थात तीन खर्ब ६१ अर्ब तीन करोड रुपैयाँले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा चार दशमलव छ प्रतिशत अर्थात दुई खर्ब २२ अर्ब २१ करोड रुपैंयाँले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा आठ दशमलव तीन प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार २०८१ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३ दशमलव चार प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६ दशमलव छ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६२ दशमलव सात प्रतिशत र ३७ दशमलव तीन प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह सात दशमलव चार प्रतिशतले, विकास बैंकहरूको चार दशमलव छ प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह छ दशमलव चार प्रतिशतले बढेको छ । चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १४ दशमलव छ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६५ दशमलव दुई प्रतिशत रहेको छ । २०८० चैत मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः ११ दशमलव चार प्रतिशत र ६७ दशमलव छ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा नौं दशमलव छ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ११ दशमलव चार प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा पाँच दशमलव दुई प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १० दशमलव दुई प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा आठ दशमलव छ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा आठ दशमलव तीन प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा चार दशमलव नौं प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा ३७ दशमलव आठ प्रतिशतले, ट्रष्ट रिसिट अर्थात आयात कर्जा ६० दशमलव छ प्रतिशतले, हायर पर्चेज कर्जा चार दशमलव एक प्रतिशतले, नगद प्रवाह कर्जा पाँच दशमलव दुई प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) चार दशमलव नौं प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा १२ दशमलव एक प्रतिशतले घटेको छ ।