शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

फाईनान्स कम्पनीहरुको वित्तीय अवस्था कमजोर

आधा दर्जनले नोक्सानी बेहोर्दा १० वटाले कमाए नाफा

सोमबार, जेष्ठ ५ २०८२

काठमाडौैं । फाईनान्स कम्पनीहरुको वित्तीय अवस्था कमजोर देखिएको छ । नेपालमा हाल सबै किसिमका गरी १७ वटा फाईनान्स कम्पनीहरु सञ्चालनमा रहेका छन् । जसमध्ये क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाईनान्स कम्पनी र नेपाल शेयर मार्केट्स एण्ड फाईनान्स कम्पनी हालसम्म पनि सुधार कै क्रममा रहेकाले यि दुई फाईनान्सको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भएको छैन । सार्वजनिक भएका १५ वटा फाईनान्स कम्पनीहरु मध्ये आधा दर्जन फाईनान्सको वित्तीय अवस्था भने कमजोर देखिएको छ । मुलुकको अर्थतन्त्र अझै पुर्णरुपमा चलायमान हुन नसकेको अवस्थामा फाईनान्स कम्पनीहरुले विगतमा प्रवाह गरेको कर्जाबाट नियमितरुपमा सावाँ व्याज उठाउन सकेका छैंनन् । यो अवस्थामा पछिल्लो समय फाईनान्स कम्पनीहरुको निक्षेप तथा कर्जा प्रवाह दुबै खुम्चिएको छ । एकातिर सञ्चालन खर्च निरन्तर बढ्दै गएको र अर्कोतर्फ व्याज आम्दानी घटेर खराब कर्जा बढेकाकारण आफ्ना शेयरधनीहरुलाई दिने लाभाँश पनि घट्दै गएको छ । कतिपय फाईनान्स कम्पनीहरुले भने लाभाँश नै दिन नसक्ने अवस्थामा रहेका छन् । यसले गर्दा पनि फाईनान्स कम्पनीहरुको वित्तीय अवस्था पछिल्लो समय कमजोर देखिएको हो ।

अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा पाँच वटा फाईनान्स कम्पनीहरुले खुद नोक्सानी बेहोरेको देखिएको छ । सञ्चालनमा रहेका १७ वटा फाईनान्स कम्पनीहरु मध्येमा हालसम्म १५ वटा फाईनान्स कम्पनीहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकोमा मल्टीपर्पस, गुडविल, प्रोग्रेसिभ सहितका १० वटा फाईनान्स कम्पनीहरुले नाफा कमाउँदा समृद्धि, जानकी, गोर्खाज सहितका पाँच वटा फाईनान्स कम्पनीहरुले खुद नोक्सानी बेहोरेको देखिएको हो ।

अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आवको तेस्रो त्रैमासमा मल्टीपर्पस फाईनान्सले दुई करोड १६ लाख ४७ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा पोखरा फाईनान्सले पाँच करोड ८१ लाख ३० हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । यसैगरी गुडविल, मञ्जुश्री र प्रोग्रेसिभ फाईनान्समा पनि चालु आवको तेस्रो त्रैमासमा क्रमशः एक करोड ५२ लाख २२ हजार, १७ करोड ११ लाख १९ हजार र नौं करोड चार लाख ४१ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । आईसीएफसी, गुह्ेश्वरी मर्चेन्ट र सेन्ट्रल फाईनान्सले पनि चालु आवको तेस्रो त्रैमासमा क्रमशः १९ करोड ५० लाख ९३ हजार, तीन करोड २४ लाख ९० हजार र चार करोड ९१ लाख सात हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । सेन्ट्रल र नेपाल फाईनान्सले भने चालु आवको पछिल्लो अवधिमा क्रमशः एक करोड ६९ लाख ७७ हजार र १७ लाख रुपैंयाँ खुद मुनाफा कमाएका छन् ।

चालु आवको तेस्रो त्रैमासमा समृद्धि, जानकी र गोर्खाज फाईनान्सले भने क्रमशः तीन करोड ५७ लाख छ हजार, १२ करोड ८३ लाख २५ हजार र छ करोड २१ लाख ८२ हजार रुपैंयाँ खुद नोक्सानी बेहोरेका छन् । यसैगरी रिलायन्स र बेष्ट फाईनान्सले पनि चालु आवको तेस्रो त्रैमासमा क्रमशः १७ करोड ४७ लाख ११ हजार र सात करोड ६२ लाख एक हजार रुपैंयाँ खुद नोक्सानी बेहोरेका छन् ।