शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

गभर्नरमा डा. विश्व पौडेलको नाम सिफारिस गर्ने देउवाकाे तयारी, ओलीले दिए सहमति

आइतबार, बैशाख २८ २०८२

काठमाडौं । गभर्नर सिफारिस समितिका दुई सदस्य नै नयाँ राखेर गभर्नरमा डा. विश्व पौडेलको नाम सिफारिस गर्ने तयारी भएको छ ।

शनिबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस र एमालेका शीर्ष नेताको बैठकले विश्व पौडेललाई गभर्नरमा सिफारिस गर्ने निष्कर्ष निकालेका थिए ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले पौडेलको नाम अघि सारेका हुन् ।

पौडेल अहिले गभर्नर सिफारिश समितिका विज्ञ सल्लाहकारको रुपमा छन् । यसअघि देउवाले गभर्नरको लागि राष्ट्र बैंकमा निर्देशकको रुपमा काम गरिरहेका डा. गुणाकर भट्टको नाम अघि सारेका थिए ।

तर, उनको राजीनामा स्वीकृत नहुँदा अहिलेसम्म नियुक्ती प्रक्रियामा नै सरकार पुग्न सकेको छैन । डेपुटी गभर्नर निलम ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगर्दा समस्या उत्पन्न भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति देउवाबीचको भेटवार्तामा गभर्नर कांग्रेसले अघि सारेको व्यक्ति बनाउनेबारे सहमति भएको बताईन्छ ।

देउवाले पार्टीको पदाधिकारी बैठक राखेर पनि प्रधानमन्त्री ओलीबाट गभर्नरको लागि कुनै समस्या खडा नभएको स्पष्टीकरण दिएका छन् ।

अब पौडेलले सिफारिश समितिबाट राजीनामा दिनुपर्ने हुन्छ । प्रधानमन्त्री ओलीले यही साता गभर्नरको नियुक्ती हुने विश्वास दिलाएका छन् ।