शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

गभर्नर नियुक्तिमा ढिलाइ : कांग्रेसले अर्को नाम प्रस्ताव गर्ने समझदारी

शनिबार, बैशाख २७ २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विवादले मुलुकका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन संकटउन्मुख अवस्थामा पुगेको छ ।

स्थिरता, सुशासन, आर्थिक सुधार र संविधान संशोधन मुख्य मुद्दा बनाएर निर्माण भएको कांग्रेस र एमालेको बलियो सरकार गभर्नर नियुक्तिको सवालमा एक महिनादेखि बन्धक बनेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको समझदारीका आधारमा बिहीबारको मन्त्रिपरिषद्ले निकास दिने अपेक्षा गरिएको थियो । तर, सरकारले बिहीबार पनि गभर्नर नियुक्तिका विषयमा निर्णय गर्न सकेन ।

राष्ट्र बैंकको निर्देशकबाट राजीनामा दिएका गुणाकर भट्टको राजीनामा बुधबार बेलुकासम्म स्वीकृत गराउने र बिहीबारको मन्त्रिपरिषद्को बैठकमा नियुक्ति गर्ने दुई नेताबीचको समझदारी थियो । तर, त्यसअनुसार बिहीबारको मन्त्रिपरिषद्को बैठकले गभर्नर नियुक्तिबारे कुनै निर्णय गरेन ।

गभर्नर नियुक्तिका विषयमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच छलफल हुँदासमेत कसलाई नियुक्त गर्ने भन्ने विषयमा कुनै सहमति हुन सकेको छैन । बरु यो छलफलमा दुई दलबीचको दरार झन् बढेको कतिपयको दाबी छ । कायममुकायम गभर्नर नीलम ढुंगानाले गुणाकर भट्टको राजीनामा स्वीकृत नगरेपछि बिहीबार पनि मन्त्रिपरिषद्को बैठक बस्नुअघि प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवासहितका दोस्रो तहका नेताहरूबीच लामो छलफल भएको थियो ।

बैठकमा सहभागी एक नेताका अनुसार अबको एक/दुई दिनभित्र पनि भट्टको राजीनामा स्वीकृत नगरिए विकल्पमा कांग्रेसले गभर्नरका लागि अर्को नाम अघि सार्ने समझदारी भएको छ ।

शनिबारसम्म राजीनामा स्वीकृत भएमा भट्ट नै गभर्नर बन्ने बाटो खुल्ने तर राजीनामा स्वीकृत नभएको अवस्थामा कांग्रेसले अर्को नाम प्रस्ताव गर्ने निष्कर्ष बैठकले निकालेको दाबी गरिएको छ । कांग्रेसले भट्टको विकल्पमा नबिल बैंकको सिईओबाट राजीनामा दिएका ज्ञानेन्द्र ढुंगानालाई अघि सार्ने चर्चा छ । तर निजी बैंकमा काम गरेकालाई गभर्नर बनाउन हुँदैन भन्ने पनि कांग्रेस भित्र बलियो मत छ ।

गभर्नर नियुक्तिमा भइरहेको ढिलाइको कारक नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर डा नीलम ढुंगाना तिम्सिना पनि देखिएकी छन् । उनले खासगरी कार्यकारी निर्देशक डा गुणाकर भट्टको राजीनामा स्वीकृत गरेकी छैनन् ।

राजीनामा स्वीकृत गरेर प्रतिष्पर्धी थप गर्न नचाहेको उनी निकटतम बताउँछन् । राष्ट्र बैंकको नेपाल वित्तीय संस्था कर्मचारी संघले मंगलवार एक विज्ञप्तिमार्फत भट्टको राजीनामा स्वीकृत नगरेको विषयलाई लिएर तिम्सिनाको आलोचना समेत गरेको थियो ।

भट्टले वैशाख ५ मा राजीनामा दिएका थिए । उनी भट्ट पनि गभर्नरका बलियो दावेदार हुन् । तर निलमले उनको राजीनामा रोकेर राखेकी छन् । जसकारण सरकारलाई प्रतिष्पर्धी पुर्‍याएर नियुक्ति गर्न ढिलाइ भइरहेको छ ।