काठमाडौं । नेप्से सामान्य अंकले बढेको छ । साताको पहिलो दिन आज आईतबार नेप्से तीन दशमलव ५८ अंकले बढेर २६ सय ६१ दशमलव ६० अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ८१ अंकले बढेर चार सय ४९ दशमलव आठ अंकमा पुगेको छ । तीन सय १४ वटा कम्पनीहरुको ८९ हजार एक सय ६१ पटकको कारोबारमा दुई करोड ८४ लाख ३८ हजार चार सय २८ कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम १० अर्ब ८७ करोड ५९ लाख ९१ हजार एक सय ४४ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा छ वटा समुहले गुमाउँदा सात वटा समुहले कमाएका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दशमलव ५१ अंकले घटेर १३ सय ३१ दशमलव ४५ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक पनि २४ दशमलव ८४ अंकले घटेर पाँच हजार तीन सय ८२ दशमलव ४३ अंकमा पुगेको छ। निर्जीवन बीमा समुहको सुचक पनि दुई दशमलव १५ अंकले घटेर १२ हजार तीन सय ३७ दशमलव ३५ अंकमा पुगेकोमा फाईनान्स, लघुवित्त र अन्य समुहको सुचक पनि उच्च अंकले घटेका छन् । जलबिद्युत समुहको सुचक भने ३७ दशमलव ३४ अंकले बढेर तीन हजार पाँच सय १९ दशमलव ११ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि ४७ दशमलव ७२ अंकले बढेर १३ हजार एक सय ८८ दशमलव ३७ अंकमा पुगेको छ । यसैगरी होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज नेपाल माईक्रो लाईफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी कमाउँदा वीन लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । ङादी ग्रुप पावर लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।