मुम्बई । बलिउड सुपरस्टार अमिताभ बच्चन बलिउडमा सबैभन्दा बढी कर तिर्ने कलाकारमा परेका छन् । अमिताभ २०२४/२०२५ मा सबैभन्दा बढी ट्याक्स तिर्ने भारतीय अभिनेता बनेका हुन् । अघिल्लो वर्ष सर्वाधिक ट्याक्स तिरेका अभिनेता शाहरूख खानलाई उछिन्दै अमिताभ पहिलो बनका् हुन् । इण्डिया टाइम्समा उल्लेख भएअनुसार अमिताभले यस वर्ष ३५० करोड आम्दानी गरेबापत १२० करोड ट्याक्स तिरेका छन् । अघिल्लो वर्ष उनले आम्दानीबापत राज्यलाई ७१ करोड ट्याक्स तिरेका थिए ।
गत वर्ष सबैभन्दा बढी ट्याक्स भर्ने भारतीय कलाकार शाहरूख बनेका थिए । उनले ९१ करोड ट्याक्स तिरेका थिए । २०२४/२०२५ मा भने उनले ८४ करोड ट्याक्स तिरेको जनाइएको छ । यो सँगै अमिताभ यस वर्ष सबैभन्दा बढी ट्याक्स तिर्ने दोस्रो भारतीय अभिनेता बनेका छन् । त्यस्तै, तेस्रो स्थानमा थलापति विजय (८० करोड ट्याक्स) र चौथो स्थानमा सलमान खान (७५ करोड ट्याक्स) रहेका छन् ।
यस वर्ष सबैभन्दा बढी ट्याक्स तिर्ने अभिनेता बनेका अमिताभको कुल सम्पत्ति एक हजार ६०० करोड रहेको २०२४ मा जारी ‘हुरुन इण्डिया’को रिपोर्टमा उल्लेख छ । उनको आम्दानीको मुख्य स्रोत फिल्म, टिभी शो (कौन बनेगा करोडपति) र ब्राण्ड इन्डोर्समेन्ट हो ।
उनले ब्राण्ड इन्डोर्समेन्टका लागि पाँचदेखि आठ करोडसम्म र एक फिल्म गरेबापत आठदेखि दश करोड पारिश्रमिक लिँदै आएका छन् । उमेरले ८१ वर्ष पार गरिसक्दा पनि उनको जोश र सक्रियतामा कुनै कमी आएको छैन । अहिले पनि उनको पाइपलाइनमा आधा दर्जन बढी चलचित्र छन् । वर्षौंदेखि टिभी गेम शो ‘कौन बनेगा करोडपति’ चलाइरहेका उनीसँग ब्राण्डका विज्ञापन पनि पर्याप्त छन् ।