काठमाडौं । नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन १९ अंकले बढेको नेप्से आज सोमबार २९ दशमलव ८७ अंकले बढेर २७ सय २७ दशमलव ९१ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव २७ अंकले बढेर चार सय ५९ दशमलव ६९ अंकमा चढेको छ । नेप्सेमा आज तीन सय दुई वटा कम्पनीहरुको एक लाख दुई हजार आठ सय ६१ पटकको कारोबारमा एक करोड ८० लाख ८१ हजार एक सय ६८ कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम १० अर्ब चार करोड ९६ लाख ५४ हजार आठ सय ३२ रुपैंयाँ पुगेको छ ।
आज १३ वटा समुहहरुको कारोबार हुँदा तीन वटा समुहले गुमाए पनि बाँकी १० वटा समुहले कमाएका छन् । ति मध्ये फाईनान्स समुहको सुचक २४ दशमलव ८० अंंकले घट्दा जलविधुत र व्यापार समुहको सुचक पनि घटेको छ । बाँणिज्य बैंक समुहको सुचक भने २९ दशमलव ४४ अंकले बढेर एक हजार तीन सय ८७ दशमलव ८७ अंकमा चढ्दा जीवन बीमा समुहको सुचक पनि एक सय १६ दशमलव ५५ अंकले बढेर १३ हजार एक सय ८६ दशमलव ८५ अंकमा चढेको छ । यसैगरी निर्जीवन बीमा समुहको सुुचक पनि एक सय ३७ दशमलव २५ अंकले बढेर १२ हजार आठ सय ५२ दशमलव ५७ अंकमा चढ्दा बिकास बैंक, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि उच्च अंकले बढेका छन् ।
नेप्सेमा आज वीन लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाएपनि सप्तकोशी डेभलपमेन्ट बैंकले सबैभन्दा बढी गुमाएको छ । नेपाल पुर्नबीमा कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ ।