काठमाडौं । फाईनान्स कम्पनीहरुको वित्तीय अवस्था खस्किएको छ । नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको तथ्याङक एवं फाईनान्सहरुले बिभिन्न समयमा सार्वजनिक गरेको आफ्नो अपरिष्कृत वित्तीय विवरणका आधारमा पनि फाईनान्स कम्पनीहरुको वित्तीय अवस्था खस्किएको देखिएको हो ।
मुलुकको अर्थतन्त्र पछिल्लो समय खस्किएकाले अहिले बजार पुर्णरुपमा चलायमान हुन सकेको छैंन । यस कारण बैकिङ प्रणालीमा निक्षेप रकम थुप्रिएपनि नयाँ कर्जाको माग हुन सकेको छैंन । यो अवस्थामा कर्जावाला ग्राहकहरुले बिगतमा बैंक तथा वित्तीय संस्थाहरुबाट उपभोग गरेको कर्जाको सावाँ व्याज समेत तोकिएको समयमा तिर्न सकेका छैंन । वित्तीय संस्थाहरुले आफ्नो खराब कर्जा असुली गर्न धितो लिलामीको लागि पटक पटक बोलपत्र आव्हान गर्दा पनि धितो लिलाम हुन सक्ने अवस्था छैन । यी सबैको प्रभाव अहिले फाईनान्सहरुको वित्तीय अवस्थामा देखिएको छ । यसले गर्दा पनि पछिल्लो समय फाईनान्स कम्पनीहरुको वित्तीय अवस्था खस्किएको हो ।
फाईनान्स कम्पनीहरुको वित्तीय अवस्था खस्किएको पुष्टि फाईनान्स कम्पनीहरुले पछिल्लो पटक सार्वजनिक गरेको चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणबाट पनि छर्लङग हुन्छ । नेपालमा हाल सबै किसिमका गरी १७ वटा फाईनान्स कम्पनीहरु सञ्चालनमा रहेकोमा हालसम्म १५ वटा फाईनान्स कम्पनीहरुले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक एकाध बाहेकका धेरैजसो फाईनान्स कम्पनीहरु घाटामा देखिनुले पनि फाईनान्स कम्पनीहरुको अवस्था खस्किएको देखिएको हो । वित्तीय विवरण सार्वजनिक गरेका मध्ये आठ फाईनान्सले सामान्य नाफा कमाएको देखिएपनि सात वटा फाईनान्स कम्पनीहरु भने घाटामा जानुले पनि फाईनान्स कम्पनीहरुको अवस्था निकै नैं दयनीय देखिएको हो । हालसम्म वित्तीय विवरण सार्वनजनिक गरेका फाईनान्स कम्पनीहरु मध्येमा मल्टीपर्पस फाईनान्सले दुई करोड तीन लाख ८२ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदाा प्र्रोग्रेसिभ फाईनान्सले आठ करोड ५३ लाख ५० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । यसैगरी सेन्ट्रल, मञ्जुश्री र नेपाल फाईनान्सले भने यस अवधिमा क्रमशः ३४ लाख ९० हजार, ११ करोड ७० लाख ७९ हजार र दुई करोड पाँच लाख चार हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । गुडविल, श्री इन्भेष्टमेन्ट र आईसीएफसी फाईनान्सले पनि चालु आवको दोस्रो त्रैमासमा क्रमशः एक करोड चार लाख ८९ हजार, एक करोड ४१ लाख ६० हजार र १० करोड १९ लाख ३२ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् ।
चालु आवको दोस्रो त्रैमासमा घाटामा गएका फाईनान्स कम्पनीहरु मध्येमा पोखरा फाईनान्सले छ करोड ३७ लाख ९४ हजार रुपैंयाँ बेहोरेको छ भने गोर्खाज फाईनान्सले २५ लाख ९८ हजार रुपैंयाँ खुद नोक्सानी बेहोरेको छ । रिलायन्स, गुह्ेश्वरी र वेष्ट फाईनान्सले पनि क्रमशः ११ करोड ९७ लाख ३९ हजार, दुई करोड १८ लाख ८१ हजार र एक करोड ७२ लाख ६२ हजार रुपैंयाँ घाटा बेहोरेकाछन् । समृद्धि र जानकी फाईनान्सले पनि क्रमशः छ करोड २८ लाख २२ हजार र २४ करोड ८२ लाख रुपैंयाँ घाटा बेहोरेका छन् ।