शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

बाबुछोरीको कथामा चलचित्र ‘रङ्गी’

मंगलबार, माघ २९ २०८१

काठमाडौँ । बालकलाकार हुँदै अभिनय सुरू गरेका अभिनेता सलोन बस्नेत अब निर्माता भएका छन्।

सोमबार चलचित्र ‘रङ्गी’बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अभिनेता बस्नेतले सामाजिक सञ्जालमा भेटेको एक भिडियोले आफूलाई चलचित्र निर्माण गर्न प्रेरित गरेको बताए ।

‘रङ्गी’ मा बुबाको सङ्घर्ष र त्यागलाई देखाइएको उनले जानकारी दिए । बुबाको अव्यक्त प्रेमलाई चलचित्रमा देख्न पाइने बस्नेतले बताए । निर्माताको रूपमा पहिलो चलचित्र भएकाले आफ्नो लागि यो सधैँ खास रहने अभिनेता बस्नेतको भनाइ छ ।

“म चलचित्रकै माध्यमले चिनिएँ, बालकलाकारदेखि चलचित्र कर्ममै छु, मलाई मन परेको कथामा चलचित्र बनाउने सपना थियो, त्यो पूरा भएको छ,”, अभिनेता बस्नेतले भने ।

यसै चलचित्रमार्फत सन् २०२२ कि मिस नेपाल नम्रता श्रेष्ठ अभिनयमा ‘डेब्यु’ गरेकी छन् । उनले आफ्नो बाल्यकालदेखि कै अभिनेत्री बन्ने सपना पूरा भएको बताइन् ।

चलचित्रमा विशाल पहाडी, उत्तम केसी, बालकलाकार आयुषी ढकाल, सुमिन गुरुङलगायतले अभिनय गरेका छन् । यसै चलचित्रमार्फत सुरेश न्यौपानेले पनि निर्देशनमा डेब्यु गरेका छन् ।

सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा तयार भएको चलचित्रमा सुमन गजमेरको कथा, सौरभ लामाको छायाङ्कन, दुर्गेश थापा, आमेश भण्डारी र भीम विसीको सङ्गीत छ भने बन्दे प्रसादले सम्पादन, राजेन्द्र मोक्तानले रङ्ग संयोजन, कविराज गहतराज र शिशिर खातीले नृत्य निर्देशन गरेका छन् ।