बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

नेपालमा समाजवाद निर्माण गर्न नसकिए आफूलाई मृत्युदण्ड दिइयोस् : वामदेव गौतम

आइतबार, माघ २० २०८१

काठमाडौँ । राष्ट्रिय सभा सदस्य तथा पूर्वउपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले नेपालमा समाजवाद निर्माण गर्न नसकिए आफूलाई मृत्युदण्ड दिइयोस् भन्ने माग गरेका छन्।

राष्ट्रिय सभा बैठकमा आइतबार सम्बोधन गर्ने क्रममा सांसद गौतमले वर्ष तोकेर समाजवाद ल्याउन आफूलाई दाउमा राख्न तयार रहेको बताए ।

देशलाई समाजवादतर्फ डोहोर्याउने दिशातर्फ सत्तापक्ष र प्रतिपक्ष कसैको ध्यान नपुगेको बताउँदै उनले नेपालमा समाजवादको संरचना निर्माण गर्न सकिने बताए ।

समाजवाद निर्माण हुन नसकेको खण्डमा आफू मृत्युदण्ड पनि भोग्न तयार रहेको उनले बताए। ‘म आफूलाई दाउमा राख्न चाहन्छु, मलाई मृत्युदण्ड दिइयोस् यदि समाजवाद निर्माण हुन सक्दैन भने । वर्ष तोकियोस्, यति वर्षभित्र समाजवाद निर्माण गर्न सकिएन भने म मृत्युदण्डमा जान तयार छु । हाम्रो देशमा यहाँभन्दा अगाडि पुँजीवाद जान सक्दैन । यहाँभन्दा अगाडि जाने समाजवाद हो ।’ उनले भने ।

सांसद गौतमले १० वर्षभित्र नेपाललाई युरोपियन स्तरमा लैजान सकिने दाबी समेत गरे । वर्षमा १४ खर्ब रुपैयाँ खर्च गरेर समाजवाद ल्याउने आधार आफूसँग रहेको उनको भनाइ थियो ।