काठमाडौं । लचित्र ‘पूर्णबहादुरको सारंगी’को सिक्वेल निर्माण हुनेभएको छ । आइतबार काठमाडौंमा आयोजना गरिएको यो चलचित्रको सफलता खुशीयाली कार्यक्रममा निर्माता विनोद पौडेलले सिक्वेल निर्माणको घोषणा गरेका हुन् । चलचित्रको पोष्टर सार्वजनिक सँगसँगै पौडेलले यसअघि नै पोष्टरमार्फत् घोषणा भइसकेको फिल्म ‘रोल नं १’ २०८२ सालमा प्रदर्शन हुने बताएका थिए ।
सेभेज सिज सिनेमाको ब्यानरमा बन्न लागेका दुई यी दुई चलचित्रमध्ये ‘रोल नं १’लाई जोन योञ्जनले निर्देशन गर्दै छन् भने ‘पूर्णबहादुरको सारंगी २’को निर्देशकका बारेमा खुलाइएको छैन । ‘सारंगी २’लाई २०८३ सालमा रिलिज गरिने बताइएको छ ।
चलचित्र सफलताको खुशीयाली कार्यक्रममा विश्वव्यापी ग्रस कलेक्सन रिपोर्ट पनि सार्वजनिक गरिएको थियो । जसअनुरुप फिल्मले नेपालमा ४८ करोड र विदेशमा २७ करोड हाराहारी कमाएको छ । अर्थात् विश्वभरबाट फिल्मले ७५ करोड कमाएको कार्यक्रममा जानकारी गराइएको थियो । नेपाली चलचित्रले नेपाल र विदेशमा जोडेको यो अहिलेसम्मकै उच्च अंक हो । कार्यक्रममा चलचित्रका निर्देशक, कलाकार, प्राविधिकलाई कदरपत्र प्रदान गर्दै चेकसहितको खाम (बोनस) पनि बाँडिएको थियो । तर, बोनस रकम खुलाइएको थिएन ।
निर्देशक पौडेलको असन्तुष्टि
‘पूर्णबहादुरको सारंगी-२’ का कथाकार तथा निर्देशक सरोज पौडेलले चलचित्रको सिक्वेल घोषणालाई लिएर असन्तुष्टि व्यक्त गरेका छन् । आफूले लेखेको कथालाई अनावश्यक रूपमा तन्काएर कमाइ खाने भाँडा नबनाउन उनको सुझाव छ । उनले आफूसँग कुनै सल्लाह नगरी ‘पूर्णबहादुरको सारंगी २’ घोषणा गरिएको बताएका छन् । साथै, उनले चलचित्रको निर्देशन आफूले नगर्ने पनि प्रष्ट्याउनुभएको छ । ‘पूर्णबहादुरको सारंगी’ विशुद्ध आफ्नो आइडियामा बनेको पौडेलको भनाइ छ ।
पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पूर्णबहादुरको सारंगी विशुद्ध मेरो स्टोरी, आइडिया र निर्देशनमा बनेको फिल्म थियो, जसलाई दर्शकहरूले अपार माया साथ दिएर ऐतिहासिक बनाइदिनु भएको छ । इतिहास घरीघरी कोर्न सम्भव हुँदैन, त्यही कारण मैले पूर्णबहादुरको सारंगीले कोरेको इतिहासलाई इतिहास नै बनाई सम्मानपूर्वक राखौं, यसलाई कमाइ खाने भाँडो बनाउन खोज्दा आफ्नै हातले बनाएको इतिहास आफैं भत्काउन हुँदैन भन्ने लागेर मैले यो फिल्म दोस्रो भागमा काम गर्दिनँ, सकेसम्म २,३,४र६ बनाउनतिर नलागेर आफ्ना कथाहरू फरक शैलीमा भन्नु पर्दछ, भन्ने मेरो मान्यतालाई नै निरन्तर दिँदैछु,’ उनले अगाडि लेखेका छन्, ‘मेरो जानकारीबिना मैले सिर्जना गरेका पात्र र मेरो कथालाई तन्काएर व्यापार गर्ने माध्यम नबनोस् । पूर्णबहादुरको सारंगी-२, मैले काम नगरे पनि आवश्यक प्रक्रिया पूरा गरेर अगाडि बढाउनु होला । सारंगी–१ ले स्थापित गरेको गरिमा जोगाउनु होला ।’