काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले स्वदेशी पुँजी परिचालनमा बढेको क्षमता र अवसरलाई ध्यानमा राख्दै स्थानीय उद्यमीलाई उत्पादनशील क्षेत्रमा आयोजना प्रस्ताव गर्न आह्वान गरेका छन्।
आज तनहुँको भानु नगरमा आयोजित महोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले स्थानीय आयोजना र उद्यम विकासमा अब लगानीको अभाव झेल्नु नपर्ने स्थिति आएको बताउँदै १० अर्ब पुँजीको लगानीसँगै कम्पनी स्थापना भएको जानकारी दिएका थिए।
अध्यक्ष ढकालले नेपालका पर्यटन, ऊर्जा, सूचना प्रविधि र कृषि उत्पादनका क्षेत्रहरूमा अवसरहरूको प्रचुरता रहेको उल्लेख गर्दै, स्थानीय उद्योगीहरूलाई लगानीका लागि वित्तीय व्यवस्थापन जुटाउन र साझेदारी गर्न नयाँ कम्पनी बनेको अवसरबाट फाइदा लिन आह्वान गरे।
महासंघको आग्रहमा नेपाल सरकारले लगानीमा अवरोध पुर्याउने कानुन सुधार गरिरहेको र लगानीका लागि अनुकूल वातावरण सिर्जना भइरहेकोमा अध्यक्ष ढकालले जोड दिएका थिए। साथै, पर्यटक आगमन बढिरहेको, रेमिटेन्समार्फत वैदेशिक मुद्रा पर्याप्त रहेको र बैंकिङ क्षेत्रमा तरलता र ब्याजदर सन्तुलित रहनु पनि लगानीका लागि उपयुक्त समय भएको अध्यक्ष ढकालको भनाइ थियो।
अध्यक्ष ढकालले भानुभक्त आचार्यको जन्मस्थललाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा विकसित गर्न र स्थानीय उत्पादनको प्रवर्द्धनमा भइरहेको प्रयासलाई समर्थन गर्ने बताएका थिए। भानु नगरलाई शुभकामना दिँदै उनले स्थानीय विकास र उद्यमशीलता प्रवर्द्धनमा सबैलाई साथ दिन आग्रह गरे।