शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

एनपीएल खेलेका धवनको तलब २ करोड !

जम्मा १३६ रन जोडेर भारत फर्किए पूर्वओपनर

सोमबार, मंसिर २४ २०८१

काठमाडौं । त्रिवि मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) का चारवटा म्याच खेलेर भारतीय ब्याट्सम्यान शिखर धवन आइतबार फर्किएका छन्। उनलाई ल्याउनका लागि फ्रेन्चाइज कर्णाली याक्सले मोटो रकम खर्च गरेको थियो। उनी २ करोडको सम्झौतामा आएका थिए।

एनपीएलको पहिलो संस्करणमा जोडिएका सबैभन्दा चर्चित अन्तर्राष्ट्रिय क्रिकेटर थिए धवन। हुन त न्यूजिल्यान्डका मार्टिन गुप्टिल र न्यूजिल्यान्डका जिम्मी निसम पनि अन्तर्राष्ट्रियरुपमा ख्यातिप्राप्त खेलाडी हुन्। तर, नेपालमा बढी परिचित भएको हिसाबले धवनको आगमनले ठूलो चर्चा पाएको थियो।

धवनसहितको कर्णालीले लिग चरणमा खेलेका चार खेलमध्ये दुईमा जित निकालेको छ भने दुई हार व्यहोरेको छ। एनपीएलका सबैभन्दा महंगा खेलाडीले अपेक्षाकृत प्रदर्शन भने गर्न सकेनन्। उनले चार खेलमा कुल १३६ रन बनाए, जसमा एउटा अर्धशतक सामेल छ।

जनकपुर बोल्ट्सविरुद्धको पहिलो खेलमा धवन १४ बलमा १४ रन बनाएर आउट भएका थिए। सस्तोमा आउट भएपछि उनले पीचलाई दोष दिए। पीच ब्याटिङका लागि अनुकूल नरहेको धवनको भनाइ थियो।

दोस्रो खेलमा उनले राम्रो ब्याटिङ गरे, तर टिमलाई जित दिलाउन सकेनन्। काठमाण्डु गुर्खाजविरुद्ध धवनले ५१ बलमा ७१ रन हाने, जसमा ५ छक्का र ४ चौका सामेल थिए।

चितवन राइनोजविरुद्धको तेस्रो खेलमा पनि धवन राम्रो लयमा देखिए। उनले ४१ बलमा ४५ रन बनाउँदै १३१ रनको सामान्य लक्ष्य पछ्याउन सहयोग गरे। कर्णालीले पहिलो जित दर्ता ग¥यो।

चौथो खेलमा धवन चलेनन्, तर कर्णालीले जित्यो। पहिलो ब्याटिङ गर्दै कर्णालीले १३३ रनको कमजोर योगफल बनाएको थियो। शिखर धवनको ब्याटबाट पाँच रन मात्रै निस्कियो। तर, बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै कर्णालीलाई ७ रनको रोमाञ्चक जित दिलाए।

फ्रेन्चाइजका मालिक ग्रिहेन्द्र घिमिरेले उनलाई एभरेस्ट बेसक्यान लिएर गएका छन्। धवनलाई फ्रेन्चाइजमा जोड्ने कर्णाली याक्सको निकै साहसिक निर्णय थियो। उनलाई नेपाल ल्याउनका लागि टिमले २ करोड रुपैयाँ खर्च गरेको छ, जुन कुनै पनि एनपीएल फ्रेन्चाइजका लागि ठूलो रकम हो। धवनले प्रत्येक खेलका लागि ३० हजार डलर लिने गरी सम्झौता गरेका थिए। एक पर्सनल एसिसेटेन्ट सहित आएका धवनको सबै व्यवस्थापकीय खर्चहरू समेत जोड्दा दुई करोड रुपैयाँ जति पुग्यो।

धवन स्वयम्ले पनि नेपालमा अविस्मरणीय अनुभूति संगाले। उनलाई नेपाल आउँदा विमानस्थलमा भव्य स्वागत भएको थियो भने मैदानमा पनि समर्थकहरूले निकै माया देखाएका थिए। नेपाली समर्थकहरूबाट पाएको प्रेम र स्नेहले उनी पुलकित छन्।

धवनले अन्तर्राष्ट्रिय क्रिकेटबाट अवकाश लिइसकेका छन्। तर उनको नेपाल आगमनले भने एनपीएलको रौनक बढेको थियो।