मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

सर्बिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

शुक्रबार, मंसिर २१ २०८१

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा रामेछाप लिखु तामाकोशी गाउँपालिका–३ बिजुलकोट घर भई काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–९ नयाँबस्ती बस्ने ३४ वर्षीय उखिल बम्जन र कैलाली टिकापुर नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१० बुद्धनगर बस्ने २६ वर्षीय कमल रावल रहेका छन्।

पक्राउ मध्ये उखिलले १ जना पीडितबाट १ लाख ४० हजार रूपैयाँ र कमलले १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उखिललाई काठमाडौं पिङगलास्थानबाट बुधबार र कमललाई काठमाडौं ताहाचलबाट बिहीबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।