एजेन्सी । दक्षिण कोरियामा सैन्य शासन लागू गर्ने असफल प्रयासपछि राष्ट्रपति युन सुक योलविरुद्ध सांसदहरूले महाभियोगको प्रस्ताव पेश गरेका छन् । प्रमुख प्रतिपक्षी दल डेमोक्रेटिक पार्टी (डिपीके)सहित ६ विपक्षी दलले राष्ट्रपति योलविरुद्ध महाभियोगको प्रस्ताव पेश गरेको द कोरिया टाइम्सले जनाएको छ ।
मंगलबार स्थानीय समयानुसार राति १०ः२३ बजे राष्ट्रपति योलले देशविराधी तत्वलाई तह गराउन भन्दै सैन्य शासन लागू गरिएको बताएका थिए। उनले टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै उत्तर कोरियाका कम्युनिष्ट बलबाट देशको सुरक्षा गर्न यो कदम जरुरी भएको जिकिर गरेका थिए।
राष्ट्रपतिले गरेको सम्बोधनलगत्तै दक्षिण कोरियाको सेनाले सम्पूर्ण राजनीतिक गतिविधि र संसदीय कारबाहीलाई निलम्बन गरिएको घोषणा गरेको थियो । यद्यपि, राष्ट्रपतिकै पार्टीका नेताहरूले पनि यो कदमको विरोध गरेका थिए भने विपक्षी दलका सांसद्हरूले संसद् भवनमा बाहिर उपस्थित भएर प्रदर्शन गरेका थिए ।
लगत्तै देशभर राष्ट्रपतिको विरोधमा प्रदर्शन भएको थियो । व्यापक दबाबबीच बुधबार बिहान उहाँले सैन्य शासन लागू गर्ने प्रस्ताव फिर्ता लिएका थिए। यद्यपि, असंवैधानिक कदम चाल्ने राष्ट्रपतिविरुद्ध कारबाही गर्नुपर्ने माग राख्दै प्रदर्शन जारी छ ।