काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौंको जमलमा रहेको नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई अस्पतालको विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि २५ प्रतिशतसम्म छुट हुने र विभिन्न सेवामा लाग्ने परार्मश शुल्कमा १०० प्रतिशत छुट हुने व्यवस्था समेत गरिएको छ।
सम्झौता पत्रमा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय र नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजको तर्फबाट अध्यक्ष रुप नारायण शाहले हस्ताक्षर गरे । यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले अस्पतालबाट प्रदान गरिने इन्डोस्कोपी, इसिजी, ईईजी, एक्स रे, अल्ट्रासाउण्ड, इको, कार्डियोलोजी लगायतका स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्नेछन्।