पोखरा । सहकारी ठगी र संगठित अपराध अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि म्याद थप्न आज अदालत लगिँदैछ।
सहकारी ठगी, सम्पत्ति र संगठित अपराध मुद्दामा अनुसन्धानका लागि दिइएको पछिल्लो १३ दिनको म्याद शुक्रबार सकिएकोमा हिजाे शनिबार परेकाले र आज आइतबार प्रहरीले कास्की जिल्ला अदालतमा पेस गर्न लागेको हो ।
म्याद थप भएपछि प्रहरीले थप अनुसन्धान अघि बढाउने छ । उनी कात्तिक २ गते पक्राउ परेका थिए । लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा ल्याइएको थियो।
म्याद थप पछि लामिछानेलाई बयानका लागि काठमाडौं ल्याउने तयारी छ । उनीविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भइसकेको छ ।
पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अवैध रुपमा गोर्खा मिडिया प्रा.लिमा लगेको भन्दै लामिछानेमाथि अनुसन्धान थालिएको हो। लामिछाने गोर्खा मिडियाले चलाएको ग्यालेक्सी टेलिभिजनका पूर्व सञ्चालक तथा प्रवन्ध निर्देशक हुन्।