काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेकपा (एमाले)ले आज सडकमा शक्ति प्रदर्शन गर्दैछ । एमालेले आज काठमाडौंमा ‘जागरण सभा’ गर्न लागेको हो । जागरण सभा दरबारमार्गमा हुनेछ ।
भद्रकालीबाट शुरू हुने जुलुस न्युरोड गेट, वीर हस्पिटल, रत्नपार्क, त्रिचन्द्र क्याम्पसको अगाडिबाट दरबारमार्गमा पुगेर कोणसभामा परिणत हुनेछ ।
जुलुस बिहान साढे ११ बजे काठमाडौंको भद्रकालीबाट शुरू भएर साढे १२ बजे दरबारमार्गमा पुगेर जागरण सभामा परिणत हुने एमालेले जनाएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुर ३ जिल्लाको संयुक्त आयोजनामा हुने सभामा १ लाख नेता कार्यकर्ता उतार्ने दाबी एमालेको छ ।
जागरण सभा संयोजन समितिका संयोजक डा. राजन भट्टराईले अराजकताविरुद्ध र स्थिरताको पक्षमा जनमत निर्माणका लागि जागरण सभा गर्न लागेको जानकारी दिए ।
मुलुकमा बढ्दो अराजकता र अस्थिरताका विरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानूनी राजका पक्षमा जनमत निर्माण गर्न जागरण सभा आयोजना गरिएको उनले बताए ।
यसअघि भृकुटीमण्डपमा गर्न लागिएको कार्यक्रम त्यहाँ ठाउँ साँघुरो हुने भएकाले दरबारमार्गमा सारिएको एमालेले जनाएको छ ।
समाजमा सरकार र एमालेविरुद्ध उठाइएको योजनाबद्ध रूपको अराजकता, अनुशासनहीनता तथा अराजनीतिक व्यवहारलाई चिर्न जागरण सभा गर्न लागिएको एमाले बागमती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुंगेलले बताए । ‘फेक न्युज लेख्नेदेखि लिएर, कानुन, अदालत, सरकार केही नमान्ने, नारा जुलुस गर्ने कुरा गलत हो भन्ने कुरा जनतासम्म पुर्याउन यो कार्यक्रम आयोजना गरिएको हो’, ढुंगेलले भने ।
सरकारमा रहेका दलको प्रमुख काम सेवा प्रवाह गर्नु नै भएको बताउँदै ढुंगेललले यस बाहेक आफ्ना कुरा जनताका बीचमा लैजान राजनीतिक दललाई कसैले रोक्न नसक्ने स्पष्ट पारे ।
‘यति बेला सरकार, पार्टी, नेता, देश, संविधान र व्यवस्थालाई नै थ्रेट छ, देशी, विदेशीको उक्साहटमा लाग्ने केही अराजक र अराजनीतिक मानिसहरूले जुन भाष्य निर्माण गरेका छन्, त्यसको विपक्षमा जनतालाई सजग गराउन यो कार्यक्रम आयोजना गरिएको हो’, उनले भने ।
उपत्यका भित्रको एमालेको शक्तिलाई कार्यक्रममा उतार्ने ढुंगेलले बताए । ‘उपत्यका बाहिरका काठमाडौंमा रहेका साथीहरू पनि कार्यक्रममा सहभागी हुनुहुन्छ, एमाले सिद्धिएको होइन, नेपालको भविष्य बनाउने, सुखी नेपाली समृद्ध नेपाल बनाउने पार्टी नेकपा (एमाले) हो भन्ने सन्देश सभामार्फत हामीले जनतालाई दिने छौँ’, ढुंगेलले भने ।
देश र व्यवस्थालाई बलियो बनाउँछु भन्ने पार्टीलाई कमजोर बनाएर देशलाई खरानी बनाउने योजना बनाउनेका विपक्षमा आज कार्यक्रम भएको ढुंगेलले स्पष्ट पारे । ‘एमालेलाई कमजोर बनाउनु भनेको लोकतन्त्र र राष्ट्रवादी शक्तिलाई कमजोर बनाउनु हो, यस्ता शक्तिसँग नागरिकलाई सचेत गराउने हाम्रो उद्देश्य हो’, उनले भने ।