काठमाडौं । रास्वपा सभापति रवि लामिछाने हिरासतमा पुगेपछि उक्त पार्टीको कार्यबाहक सभापति को हुने भन्ने चर्चा र प्रश्नको सामान्य उत्तर उपसभापति डीपी अर्यालले दिएका छन्।
आर्यालले उत्तर मात्र दिएका छैनन् अर्का उपसभापति स्वर्णिम वाग्लेभन्दा आफू नै बरिष्ठ भएको भन्ने संकेत पनि दिएका छन्। उनले भनेका छन्,‘अहिले कार्यबाहकको खाँचो छैन, त्यो मूल प्रश्न होइन तर जिम्मेवारी सम्हाल्न सक्छु। पहिला पनि कार्यबाहक सभापतिको जिम्मेवारी सम्हालेकै हुँ।’
डा. स्वर्णिम वाग्लेको प्रवेश र तनहुँ–१ मा निर्वाचन जितका कारण रास्वपा सभापति रवि लामिछाने झस्किएका थिए। राजनीतिमा अनेक आग्रहलाई अस्वीकार गर्न नसक्ने अवस्था आएपछि स्वभाविक रुपमा वाग्लेलाई उपसभापति बनाउनुपर्ने बाध्यता आइलाग्यो।
डा. मुकुल ढकाल दाहिना बनाएर पार्टीमा हुकुमतको अधिकार दिए, लामिछानेले। यहाँसम्मकी लामिछानेपछिका शक्तिशाली ढकाल थिए। तर, ढकालको दाबी छ,‘लामिछानेलाई मुखौटा बनाउने मै हुँ, पार्टीको सबै विधानदेखिका अन्य विषय मैले तयार पारेको थिएँ।’
ढकाल महामन्त्री हुँदा र लामिछानेको सुइरो बन्दा केन्द्रीय समितिदेखि सबैमा लामिछाने अल्पमतमा पर्ने अवस्था आएपछि केही विवादीतसहितका ग्यालेक्सीका कर्मचारी ल्याएर केन्द्रीय समितिमा भर्ती गराए।
‘त्यसबेला केन्द्रीय समितिमा विस्तार गर्ने प्रस्ताव थिएन। तर थपिएका मानिस सबै लामिछानेका सिफारिस थिए’, उच्च स्रोतले भन्यो,‘सन्तुलित बनाउने नाउँमा आफू बर्चश्वमा बस्ने लामिछानेको धेय पूरा भयो।’
चुनावपूर्व वाग्लेले नेपाली कांग्रेसमाथि अत्यन्त प्रहार गरे। राष्ट्रिय गानको सर्जकसम्मको हेक्का नराख्ने वाग्ले नेपाली कांग्रेसका महामन्त्री गगन थापाको सिफारिसमा कांग्रेसको घोषणापत्र लेख्ने टोलीमा थिए। साथमा थिए, मनिष झा पनि।
अहिले लामिछानेका सबैभन्दा चहिता मानिन्छन् झा. उनकै भाषणका कारणले १९ जना सांसदमाथि अबहेलनाको मुद्दा लाग्दैछ, निशा डाँगीबाहेक।
‘हामी त राजनीतिमा यसरी होमियौं कि यहाँ मुद्दा बनाउने कि व्यक्ति जोगाउने भन्ने अवस्था भयो’, एक जना नेता भन्छन्,‘होइन भनौं भने हो जस्तो, हो भनौं भने होइन भन्ने उर्दी छ’, लामिछानेको सहकारी ठगी सन्दर्भ जोड्दै ति नेता भन्छन्।
जे भए पनि राजनीतिभित्रको राजनीति भनेको गुट र समूहगत हुने भएकाले वाग्लेको चाहना र विवादबारे अर्यालको प्रहार अर्थपूर्ण छ। यसले के देखाउँछ भने वाग्ले ल्याइते उपसभापति हुन्।