बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

एमालेको जनप्रदर्शन किन?

सोमबार, मंसिर ३ २०८१

नेकपा एमालेले मंसिर ७ गते जनसभा र प्रदर्शन गर्ने निर्णय गरेको छ। बलियो सरकारको नेतृत्व गरिरहेको एमालेले यसका विविध कारण बताएको छ। तर, के यो जनप्रदर्शन आवश्यक हो त भन्ने कोणबाट पनि प्रश्न उठेका छन्।

विपक्षी दलले दबाब बढाएपछि एमालेले उपत्यकाका तीन वटा जिल्ला कमिटी, चारवटा विशेष जिल्ला कमिटी र २३ वटा जनसंगठनबाट एक लाख काठमाडौंमा उतार्न लागेको छ। एमाले नेतृत्वका विरुद्धमा अनेकखाले अनर्गल, भ्रमपूर्ण, प्रायोजित समाचारहरू सम्पेषण गरी पार्टी, यसको नेतृत्व र नीतिमाथि चौतर्फी हमला गर्ने प्रयास भइरहेको भन्दै त्यसलाई चिर्नको लागि एमालेले सडकमा शक्ति देखाउन लागेको हो। एमाले विज्ञप्तिमा भन्छ,‘विधिको शासनविपरीत विभिन्न स्वार्थी समूह र व्यक्तिका नाममा अस्थिरता र अराजकता सिर्जना गरी हाम्रो स्थापित लोकतान्त्रिक विधि, पद्धति, सुशासनका पक्षमा भएका न्यायिक छानबिन, अनुसन्धान, अभियोजन र न्यायिक प्रक्रियालाई आआफ्ना पक्षमा पार्ने धुमिल कोसिस भइरहेका छन्।’ एमालेको यो प्रदर्शनको कारणमा जे उल्लेख गरेको छ यसको अर्थ रास्वपाले गरेको प्रचार हो। सभापति रवि लामिछानेले नै अदालत परिसरबाट प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढाल्न गरेको आह्वान र पोखरादेखि काठमाडौं र भैरहवामा एमालेविरुद्ध भएका नाराबाजी चिर्न पनि यो सभाको तयारी भएको हो।

एमाले नेताका अनुसार माओवादीले पनि सभा गरेर एमालेमाथि प्रहार गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयम् एमालेविरोधी हुंकार छाडिरहेका छन्। तर अहिले एमालेले सभा या प्रदर्शन भन्दा पनि सरकारमा रहेर द्रुत गतिमा जनताको आशाअनुसारको काम निर्णायक विन्दुमा लैजानु हो। बेरोजगारी समस्याको समाधानका निम्ति सरकारी नीति निर्माणदेखि अवसरको सृजनाचाहिँ गर्नु हो। यसकारण पार्टीको सबै पंक्ति त्यतातिर लम्केको उचित हुनेछ।