बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

जलनपीडितले भेटे स्वास्थ्यमन्त्री : निःशुल्क उपचारको व्यवस्था हुनु सकारात्मक

बुधबार, कार्तिक २८ २०८१

काठमाडौँ ।जलनपीडितहरुले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेललाई भेटेका छन् ।

सांसद विन्द्यवासिनी कंशाकार, जलन उपचार अभियन्ता उज्वलविक्रम थापालगायतको टोलीले स्वास्थ्यमन्त्री पौडेललाई भेटेर जलनपीडितको उपचारका लागि बेग्लै वार्ड तथा नसक्नेका लागि निःशुल्क उपचारको व्यवस्था हुनु सकारात्मक रहेको बताएका हुन् ।

आफै जलनपीडित समेत रहेकी सांसद कंशाकारले अहिले जलनपीडितलाई उपचारमा सहज भएको बताइन् । “उपचार सहज बनाउन विगतमा मैले पटक–पटक कुरा उठाएँ । संसदमा प्रस्ताव पनि दर्ता गराएँ । तर सुनुवाइ भएको थिएन । तर, अहिले हामीले लामो समयदेखि उठाएको जलनपीडितका समस्या सम्बोधन भएका छन्”, उनले भनिन् ।

जलनपीडितको उपचारका पक्षमा आवाज उठाउँदै आएका अभियन्ता थापाले समस्या धेरै भए पनि अहिले नसक्नेका लागि निःशुल्क उपचार र जलन वार्ड विस्तार महत्वपूर्ण निर्णय भएको बताए। अब जलनका घटना नहुन् भनेर सजगता अपनाउन पनि उनले ध्यानाकर्षण गराए । थापाले रसायन प्रयोग गर्ने सुनचाँदी लगायतका प्रतिष्ठानका कर्मचारीको बिमा गराउन सकिए एसिड दुर्घटना हुँदा राहत पुग्ने बताए ।

तनहुँका श्याममणि आचार्यले जलनपीडितका लागि निःशुल्क उपचारको निर्णय उदाहरणीय भएको बताए । झापाकी जलनपीडित ज्योति हरिजनले भोग्नेलाई मात्र पीडा थाहा हुने भन्दै अब महङ्गो कस्मेटिकलगायतका उपचारको शुल्क घटाउन पहल हुने आशा व्यक्त गरिन् ।

स्वास्थ्यमन्त्री पौडेलले कसैले पनि आर्थिक अभावका कारण उपचार नपाएर ज्यान गुमाउनु वा अङ्गभङ्ग हुन नपरोस् भनेर निःशुल्क उपचार तथा जलन वार्ड विस्तारका लागि पहल भएको बताए ।

मन्त्री पौडेलले अब विद्युत्का कारण हुने जलनमा विद्युत् प्राधिकरणबाट उपचार वा बिमाका सम्बन्धमा के गर्न सकिन्छ भनेर लागिरहेको बताए । कस्मेटिक उपचारमा महङ्गो शुल्क भन्ने गुनासो समाधान गर्नसमेत अनुगमन र नियमन गरिने उनको भनाइ थियो ।