बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

लामिछानेलाई आज रूपन्देही ल्याउने, सुरक्षा व्यवस्था कडा पारियाे

मंगलबार, कार्तिक २७ २०८१

रुपन्देही ।सहकारीको रकम अपचलनको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई आज रूपन्देही ल्याउने तयारी छ ।

जहाजमार्फत् बिहानै रूपन्देही ल्याउने तयारी गरे पनि प्रतिकूल मौसमका कारण केही ढिलाइ भएको हो ।

बिहान भैरहवामा भिजिबिलिटी नहुँदा जहाज पोखराबाट उड्न सकेको थिएन ।

उनलाई ल्याउनुअघि भैरहवामा रास्वपा समर्थकले विरोध प्रदर्शन गर्ने तयारी गरेका छन् । लामिछानेलाई रुपन्देही ल्याउने भएपछि बिहानैदेखि रुपन्देहीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

रास्वपाको प्रदर्शनलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल वरपर नेपाल र प्रहरी सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि रुपन्देही ल्याउन लागिएको हो ।

लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतले कात्तिक ८ गते पक्राउ पुर्जी जारी गरेको थियो ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख गोर्खा मिडिया नेटवर्कमा अवैध किसिमले लागिएको संसदीय छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । प्रतिवेदनअनुसार, बुटवलस्थित सहकारीबाट एक करोड ९६ लाख लामिछानेको नाममा, २ करोड ५० लाख छविलाल बञ्जाडे जोशीको नाममा र साढे १२ करोड अन्य व्यक्तिहरूको नाममा गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ ।

यसैबीच लामिछानेलाई जिल्ला अदालत कास्कीले आइतबार थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रोपटक ७ र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो ।

लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।